
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा विस्तार गर्ने निर्णय गरेको छ । मंसिर महिनाभर बेलुका ५ बजेसम्म सेवा सञ्चालन हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले बुधबार जारी गरेको सूचना अनुसार मंसिर १ गते सोमबारदेखि बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म नियमित रूपमा सेवा सञ्चालन हुनेछ भने मंसिर महिनाभर अतिरिक्त एक घण्टा थप गरी बेलुका ५ बजेसम्म कार्यालय खुला रहनेछ ।




सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले हस्ताक्षर गरेको सूचनामा भनिएको छ । ‘राष्ट्रिय परिचयपत्र दर्ता र बायोमेट्रिक विवरण अद्यावधिक कार्यको सहज र तीव्र सेवा प्रवाहका लागि स्टेशन थप गरी सेवा विस्तार गरिएको छ ।’

उनीहरूले स्थानीय तहहरूलाई आफ्ना वडा र नागरिकबीच यो जानकारी तत्कालै पुर्याउन निर्देशन दिएका छन् ।
हाल राष्ट्रिय परिचयपत्र दर्ता गर्न आउने सेवाग्राहीको भीड बढ्दै गएपछि प्रशासन कार्यालयले सेवा समय विस्तार गर्ने निर्णय गरेको हो ।
प्रशासन स्रोतका अनुसार कार्यालयमा दैनिक सयौं नागरिक दर्ता र विवरण अद्यावधिकका लागि आउने गरेका छन् ।
कार्यालयले नागरिकलाई नियत समयमा कार्यालयमा उपस्थित भई आफ्नो विवरण दर्ता गर्न आग्रह गरेको छ ।
सूचनामा भनिएको छ, ‘मंसिर महिनाभर सञ्चालन हुने विस्तारित सेवाबाट नागरिकलाई थप सहजता हुने अपेक्षा गरिएको छ ।’
जिल्ला प्रशासन कार्यालयले धनुषाका सबै स्थानीय तहलाई पत्र पठाउँदै यस सम्बन्धी सूचना आफ्ना वडामा टाँस गर्ने र नागरिकहरूलाई जानकारी गराउने जिम्मेवारी तोकेको छ ।
