सिरहामा तस्करीको लाईन खुल्ला : सर्वसाधारणसँग ५०/५० रुपैयाँ, तस्करसँग हजारौँको महिनबारी

जनकपुरधाम । सिरहाको विभिन्न नाकाबाट हुने तस्करीको लाईन सिरहा सशस्त्र प्रहरी र नेपाल प्रहरीले लाईन खुल्ला गरेको छ ।

भारतसँग सीमा रहेको सिरहाको विभिन्न नाकाबाट तस्करहरुले निर्वाध रुपमा तस्करी गरिरहेको छ । सीमामा रहेको सशस्त्र प्रहरी र सीमाभन्दा केही किलोमिटरको दुरीमा ड्युटी खटने नेपाल प्रहरीले तस्करलाई लाइन खुलाएको पाइएको छ ।
न्यूज ब्यूरोले एक गोप्य अपरेशनको क्रममा सिरहाको सीमा सुरक्षा गुल्म माडर अन्तर्गत पर्ने बरियारपट्टि बिओपी र इटाटार बिओपीबाट स्थानीय तस्करहरुले खुल्लेयाम भन्सार छलीका समानहरु भित्र्याएको देखिएको छ ।

बिज्ञापन

सीमामा रहेका बिओपी बरियारपट्टि नाकाबाट सशस्त्र प्रहरीले सर्वसाधारण र साना व्यापारीसँग प्रत्येक लटमा ५० रुपैयाँ लिने गरेका छन् । केही दुरीमा रहेको नेपाल प्रहरीको ड्युटीमा खटेका प्रहरीहरुले समेत सर्वसाधारणसँग ५० रुपैयाँ, साना व्यापारीसँग २०० रुपैयाँ र तस्करसँग १५ हजार रुपैयाँ लिने गरेका छन् । सर्वसाधारण र साना व्यापारीलाई खेपको हिसाबले लिने गर्छन भने तस्करहरुलाइ महिनबारीको हिसाबले लिने गरेका छन् ।

बिओपी बरियारपट्टिका ईन्सपेक्टर पशुपति खनालले बरियारपट्टिका नामुद तस्कर मानिएका जीवछ साह, बिजय, सुरेन्द्र साह र सिरहाका मोहनको भन्सार छलीका लाखौँको समान सिरहा भित्र्याउने गरिन्छ । बिओपी बरियारपट्टिमा खनाल आएको करिब डेढ महिनामा स्थानीय तस्करहरुसँग मिलेर करोडौँको भन्सार छलीका समान भित्र्याएर सरकारको राजश्व छली गराएका छन् ।

सीमा सुरक्षा गुल्म माडरका डिएसपी (र्ईन्चार्ज) ओमराज बाँनियाको मातहतमा रहेको बिओपी बरियारपट्टिबाट भारतको लदनियाँ बजारबाट दैनिक लाखौँको भन्सार छलीका समान सिरहा, मिरचैया, गोलबजार, लहान लगायत अन्य ठाउँमा पठाउने गरिन्छ ।

बरियारपट्टि नाकाबाट जीवछ साह, विजय र सुरेन्द्र साह किरानाका समान भ्त्रियाउने गरेका छन् । उनीहरु दाल, तेल, चिनी, घ्यू, मसाला भारी मात्रामा भित्र्याउने गरेका छन् । सुरेन्द्र साहको गुड (सख्खर, मिठ्ठा) को तस्करीमा ठुलो नाम छ । ईन्सपेक्टर खनालले उनीहरुलाई महिनाको २५ हजारदेखि ३५ हजार रुपैयाँ तोकेर तस्करीको लाइन दिएको नाम नखोल्ने शर्तमा एक व्यापारीले बताए ।

स्थानीय स्रोतका अनुसार, भारतको लदनियाँ बजारबाट दैनिक लाखौँ रुपैयाँ बराबरको सामान सिरहा भित्रिने गरेको छ । ती सबै सामान सशस्त्र र जनपद प्रहरीको चेकपोस्ट तथा गस्ती क्षेत्र पार गरेरै भित्रिने भएकाले प्रहरीको संलग्नता बिना यस्तो सम्भव नहुने स्थानीयको भनाइ छ।

नाम नछाप्ने सर्तमा एक स्थानीय व्यापारी भन्छन्, प्रहरीलाई पैसा बुझाएपछि कुनै डर हुँदैन । चेकिङको नाममा रोकिँदैन, सबै सेट हुन्छ । यसरी प्रहरीकै संरक्षणमा तस्करी मौलाउँदै जाँदा सरकारको ठूलो मात्रामा राजस्व छली भइरहेको छ ।

सशस्त्र र जनपद प्रहरीभित्रै तस्करीबाट उठ्ने महिनाबारी माथिल्लो तहसम्म पुग्ने गरेको चर्चा समेत स्थानीयस्तरमा चलिरहेको छ । तस्करी नियन्त्रण गर्नुपर्ने निकाय स्वयं तस्करीको संरक्षणमा उत्रँदा सीमावर्ती क्षेत्र तस्करहरूको सुरक्षित मार्ग बन्दै गएको देखिन्छ ।

सशस्त्रको गुल्म अन्तर्गत पर्ने बिओपीबाट हुने तस्करीबाट असुलिने महिनबारीमाकेही माथिल्ला अधिकारीहरुलाई समेत भागवण्डा दिने गरेको स्रोत बताउँछन् ।

बरियारपट्टिको ड्युटी अगाडीबाट निर्वाध तस्करी हुने, तस्करको लाईफलाईन रहेको चोरबाटो प्रयोग गरी निर्वाध समान भित्र्याउने देखिएको छ । सो सन्दर्भमा थप जानकारीको लागि बिओपी बरियारपट्टिका ईन्चार्ज पशुपति खनालले फोन स्वीच अफ गरेका थिए ।

सोही सन्दर्भमा सीमा सुरक्षा गुल्म माडरका ईन्चार्ज एवम् डिएसपी ओमराज बानियाँले आफू मातहत बरियारपट्टि परेको भएपनि ईन्सपेक्टरको जिम्मा रहेको बताए । उनले गुल्म अन्तर्गत रहेकोमा यहाँबाट आफ्नो सीमा समेत हेर्नुपर्ने भएकाले बिओपीको काम ईन्सपेक्टरले हेर्नुपर्ने बताए । उनले यस्तो भएको भए कारवाही गर्ने बताए ।

सशस्त्र प्रहरी बल सिरहा ७ नं. गण हेडक्वाटरका गणपति (एसपी) नरेश भण्डारीले बरियारपट्टि बिओपीमा अहिले ईन्सपेक्टर विदामा गएको भन्दै थोरबहुत तस्करी भएको हुन सक्ने स्वीकारे । उनले माछा तस्करीको सन्दर्भ स्वीकार गर्दै मातहतका प्रहरीबाट मिलोमत्तो वा वेवास्ता भएको स्वीकार गरे । उनले यसबारे अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडी बढाउने बताए ।

७ नं. गणका गणपति भण्डारीले केही तस्करहरुलाई तस्करी गर्न नपाउँदा आफ्नो नाम मुछिने, मिथ्या आरोप लगाउने, बदनामी गर्न खोज्ने जस्ता कार्यहरु भईरहेको बताए । उनले तस्करीमा आफ्नो संलग्नता भए कारवाही भोग्न तयार रहेको बताए । उनले आफु आएपछि तस्करहरुलाई कडाई गरेपछि षडयन्त्र रचिएको बताए । उनले यस सन्दर्भमा कारवाही प्रक्रिया अगाडी बढाउने बताए ।