
जनकपुरधाम । ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल नगद पुरस्कारसहित सम्मानित भएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित ढंगले सम्पन्न गराउन सफल भूमिका निर्वाह गरेको भन्दै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले उनलाई सम्मान गरेको हो ।
निर्वाचन अवधिभर सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउँदै सम्भावित जोखिमहरूलाई समयमै नियन्त्रणमा लिन उनले खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको जनाइएको छ ।




मधेश प्रदेशभर रहेका ईलाका प्रहरी कार्यालयका प्रमुखहरूमध्येबाट उत्कृष्ट कार्यसम्पादनका आधारमा छनोट भई प्रहरी निरीक्षक पौडेल एक्लै पुरस्कृत हुन सफल भएका हुन् । यसले उनको नेतृत्व क्षमता, कार्यकुशलता तथा जिम्मेवारीप्रतिको प्रतिबद्धता झल्काएको प्रहरी स्रोतले जनाएको छ ।

स्थानीय तहदेखि मतदाता र सरोकारवालासँग समन्वय गर्दै शान्तिपूर्ण वातावरण निर्माण गर्न उनले विशेष पहल गरेका थिए । निर्वाचनलाई निष्पक्ष र भयमुक्त बनाउन उनले खटाएको सुरक्षा व्यवस्थापन प्रभावकारी देखिएको थियो ।
उक्त सम्मानले प्रहरी संगठनभित्र उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई थप प्रेरणा मिल्ने विश्वास लिइएको छ । साथै, यसले भविष्यमा पनि जिम्मेवारीपूर्वक काम गर्न उत्प्रेरणा प्रदान गरेको प्रहरी निरीक्षक पौडेलले बताए ।