
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय, धनुषामा एक वर्षका बीचमा पाँचौँ कार्यालय प्रमुखको जिम्मेवारी एसपी रुपेश खड्काले पाएका छन् । यसअघिका एसपी अमरेन्द्र बहादुर सिंह एसएसपीमा बढुवा भएपछि खड्काले जिम्मेवारी पाएका हुन् ।
प्रहरी र व्यवसायीबीच लेनदेनदेखि प्रहरी–प्रहरीकै बीचमा विवादको शृङ्खलाका कारण धनुषामा खटिने जिल्ला प्रहरी प्रमुख फेरिँदै आएका छन् ।




व्यवसायीसँगको लेनदेन प्रकरणमा विवादमा मुछिएका कारण तत्कालीन एसपी भुवनेश्वर तिवारी र नरहरि रेग्मी सरुवा भएका थिए । रेग्मीपछि जिम्मेवारी सम्हालेका एसपी रुगम बहादुर कुँवर प्रदेश प्रहरी प्रमुख डिआईजी गोविन्द थपलियासँग विवादपछि सरुवा भए । विवादको विषय व्यवसायिक क्षेत्रका व्यक्तिसँगको हिमचिमसम्बन्धी थियो ।

डिआईजीको निर्देशनबमोजिम काम नगर्दा कुवर फेरिएका थिए । उनीपछि अमरेन्द्र बहादुर सिंह हाजिर भए । तर, जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको छोटो समयमै बढुवा पाएपछि अर्का एसपी खड्का खटिएका हुन् ।
२०६१ जेठ १५ गते इन्स्पेक्टरमा भर्ना भएका खड्का २०७१ फागुन ११ गते डिएसपीमा बढुवा भएका थिए । २०८० जेठमा उनी एसपी बढुवा भएका थिए । डिएसपी हुँदा उनी कारबाही सिफारिस भएका थिए । प्रहरी कर्मचारीले संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा जान दिनुपर्ने प्रि–स्याट छनौट परीक्षाको प्रश्नपत्र बाहिर ल्याएको कारण उनी कारवाही सिफारिस भएका थिए । तर, उनी कारवाहीमा परेनन् । बरु, कारवाही सिफारिसकै बीच एसपी बढुवा भएका थिए । खड्काले यसअघि जिल्ला प्रहरी कार्यालय, सुर्खेतको कमाण्ड गरेका थिए ।