
जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले मधेश प्रदेशको जिम्मेवारी पुन: स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठलाई दिएको छ । यही जेठ ८, ९ र १० गते बसेको केन्द्रीय सचिवालय बैठकले श्रेष्ठलाई पुनः इन्चार्जको जिम्मेवारी दिएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलमा बसेको सचिवालय बैठकले प्रदेशस्तरमा संगठनात्मक सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशालाई थप प्रभावकारी बनाउन भन्दै श्रेष्ठलाई जिम्मेवारी दिएको हो ।




पुनः इन्चार्ज चयन भएपछि श्रेष्ठले पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै मधेश प्रदेशमा संगठन विस्तार, जनपरिचालन, सुशासन तथा विकास निर्माणका कार्यलाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

उनले पार्टीले दिएको विश्वासलाई परिणाममुखी कार्यसम्पादनमार्फत सार्थक बनाउने उल्लेख गर्दै मधेशको समृद्धि र जनताको हितलाई केन्द्रमा राखेर जिम्मेवारी निर्वाह गर्ने बताए ।
श्रेष्ठका अनुसार २०८२ सालको प्रतिनिधिसभा निर्वाचनको परिणामको समीक्षा गर्न एमालेले पार्टीका उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा सचिवालय सदस्य सहित १६ सद्स्य विशेष समिति गठन गरेको छ ।
उक्त समितिमा आठवटै प्रदेशका इन्चार्ज सदस्यका रूपमा रहेका छन् । समितिले जिल्ला, पालिका र टोलस्तरसम्म पुगेर समीक्षा तथा विश्लेषणात्मक बैठक सञ्चालन गर्दै विगतको निर्वाचनको मूल्यांकन गर्ने र आगामी निर्वाचनका लागि थप प्रभावकारी रणनीति तय गर्नेछ ।
गोलबजार नगरपालिका-७, सिरहाका स्थायी बासिन्दा श्रेष्ठले विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । एमालेभित्र विभिन्न महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै आएका उनी हाल पार्टीको स्थायी कमिटी सदस्यका रूपमा सक्रिय छन् । उनी दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् भने विभिन्न महत्वपूर्ण मन्त्रालयको नेतृत्वसमेत गरिसकेका छन् ।
श्रेष्ठको पुनर्नियुक्तिसँगै मधेश प्रदेशमा एमाले संगठन थप सुदृढ हुने, कार्यकर्ता परिचालन प्रभावकारी बन्ने तथा विकास निर्माणका अभियानले नयाँ गति लिने अपेक्षा पार्टी वृत्तमा गरिएको छ ।