
जनकपुरधाम । धनुषा र सिरहा जोड्ने बहुप्रतीक्षित कमला पुल चालु आर्थिक वर्षभित्र पनि निर्माण सम्पन्न नहुने भएको छ । उद्घाटनको तयारी भइरहेका बेला भासिएको उक्त पुल पुनःनिर्माणको काम अझै पूरा हुन नसक्दा दुई जिल्लाका सर्वसाधारणले वर्षौंदेखि सास्ती भोग्नुपरेको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका अनुसार वर्षायाम सुरु भएसँगै कमला नदीमा बाढीको जोखिम बढेकाले यस वर्ष पनि पुल निर्माण सम्पन्न हुने सम्भावना नरहेको छ । मधेश प्रदेशको लाइफ लाइन मानिने ४७० मिटर लामो कमला पुल निर्माणको काम करिब डेढ दशकदेखि जारी छ ।




पुल भासिएको घटनापछि विभिन्न समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीहरू स्थल निरीक्षणमा पुग्दै निर्माण कम्पनीलाई काम तीव्र बनाउन निर्देशन दिँदै आएका छन् । केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भौतिक पूर्वाधार मन्त्री बनेका सुनिल लम्सालले पनि पुलस्थल पुगेर निरीक्षण गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत पुलसँगको तस्वीर सार्वजनिक गर्दै निर्माण कम्पनीलाई काम शीघ्र सम्पन्न गर्न निर्देशन दिएका थिए ।

कमला पुल निर्माणका लागि विसं २०६८ जेठ ३१ गते पप्पु–लुम्बिनी जेभीसँग ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । तर सम्झौताअनुसार काम सम्पन्न नभएपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गर्दै निर्माणको जिम्मेवारी लुम्बिनी बिल्डर्सलाई हस्तान्तरण गरेको थियो ।
लुम्बिनी बिल्डर्सले निर्माण कार्यलाई अन्तिम चरणसम्म पुर्याएपछि विसं २०७८ साउनमा पुल उद्घाटनको तयारीसमेत गरिएको थियो । तर उद्घाटन हुनुअघि नै पुलको सिरहातर्फको दोस्रो र धनुषातर्फको चौथो पाया (पिलर) भासिएपछि सम्पूर्ण योजना प्रभावित भएको थियो ।
१३ वटा पाया (पिलर) र १२ वटा स्पान (स्ल्याब) रहेको पुल भासिएपछि निर्माण कम्पनी र बीमा कम्पनीबीच उत्पन्न विवादका कारण लामो समयसम्म पुनः निर्माण कार्य ठप्प बनेको थियो । त्यसपछि पुनः प्राविधिक अध्ययन, डिजाइन सुधार तथा पुनर्निर्माण प्रक्रिया अघि बढाइए पनि अपेक्षित गतिमा काम हुन सकेको छैन ।
पुल निर्माणमा भएको ढिलाइका कारण धनुषा र सिरहाका नागरिकको दैनिकी प्रत्यक्ष प्रभावित हुँदै आएको छ । सिरहा नगरपालिका–१७ का प्रवीण साहका अनुसार कमला नदीमा पुल नहुँदा विशेष गरी वर्षायाममा आवतजावतमा गम्भीर समस्या हुने गरेको छ ।
“जनकपुरधाम जानुपर्ने सर्वसाधारणले अनावश्यक दुःख पाएका छन् । बाढीका बेला यातायात अवरुद्ध हुँदा बिरामीलाई उपचारका लागि जनकपुर वा विराटनगर लैजानसमेत कठिन हुने गरेको छ,” उनले भने ।
सिरहाबाट जनकपुरधाम पुग्न हुलाकी राजमार्गमार्फत करिब ३० किलोमिटर दूरी पर्दछ । तर कमला पुल सञ्चालनमा नआउँदा धेरै नागरिकलाई महेन्द्र राजमार्गको वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य हुनुपरेको छ, जसबाट यात्रा दूरी करिब ९० किलोमिटर पुग्ने गरेको छ ।
स्थानीयवासीले पटक–पटक सरकार, निर्माण कम्पनी र सम्बन्धित निकायलाई पुल निर्माण शीघ्र सम्पन्न गर्न आग्रह गर्दै आएका छन् । तर १५ वर्षअघि सुरु भएको आयोजना अझै अलपत्र रहँदा कमला पुल मधेश प्रदेशकै सबैभन्दा ढिलाइ भएको पूर्वाधार आयोजनामध्ये एक बनेको छ ।