जनकपुरधाम । मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैजनाथ महतो र रजिस्ट्रार श्रीभगवान ठाकुरलाई बर्खास्त गर्ने निर्णय भएको छ। मंगलबार जनकपुरधाममा बसेको विश्वविद्यालय सभाले उनीहरूलाई अनाधिकृत गतिविधिमा संलग्न रहेको निष्कर्षसहित पदमुक्त गर्ने निर्णय गरेको हो।
नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्यीय समितिले ७ असोजमा बुझाएको प्रतिवेदनका आधारमा उक्त निर्णय लिइएको एक सदस्यले जानकारी दिएका छन्।
जनकपुरको एक होटेलमा दिउँसो १२ बजेबाट सुरु भएको विश्वविद्यालय सभा राति ११ बजेसम्म चलेको थियो। सभामा विश्वविद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री सतिशकुमार सिंह, सह–कुलपति शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, विश्वविद्यालयका पदाधिकारी तथा सदस्यहरू उपस्थित थिए। सभाले चालु आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम पनि पारित गरेको छ।
यसअघि, १६ पुसमा सम्पन्न विश्वविद्यालय सभामा समेत उपकुलपति महतो र रजिस्ट्रार ठाकुरलाई बाहिर निकालिएको थियो। जसपा नेपाल र जनमत पार्टीबीचको विवादका कारण विश्वविद्यालयको अवस्था अन्योलग्रस्त बनेको छ। ८ माघ २०८० मा विश्वविद्यालय भवन शिलान्यासको विषयमा दुवै दलबीच विवाद उत्पन्न भएको थियो।
सभाको अवरोधका कारण विश्वविद्यालयमा आर्थिक कारोबार ठप्प हुँदा पदाधिकारी तथा कर्मचारीहरूले तलब–भत्ता पाउन सकेका छैनन्। सेवा प्रदायकहरूलाई बक्यौता नपुग्दा शैक्षिक सामग्री, इन्धन, विद्युत्, पानी तथा सञ्चार सेवामा अवरोध आएको छ।
कृषि विज्ञान संकायका दुई सेमेस्टरका करिब १०० विद्यार्थीहरूको नियमित पढाइ अवरुद्ध हुँदा उनीहरूको भविष्य अन्योलमा परेको छ। विश्वविद्यालयका रजिस्ट्रार भगवान ठाकुरका अनुसार कात्तिकमै सुरु हुनुपर्ने नयाँ शैक्षिक सत्र अझै सञ्चालनमा आउन सकेको छैन।
विश्वविद्यालय सञ्चालन भइरहेको भवनको भाडा नबुझाए घरबेटीहरूले खाली गराउने चेतावनी दिएका छन्। यसैबीच, एक अर्ब ७० लाख लागतमा निर्माणाधीन विश्वविद्यालय भवन अलपत्र अवस्थामा रहेको छ।