जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकादेखि धनुषाको शहिदनगर नगरपालिकासम्म कालोपत्रे (पीच) सडक कार्य सुरु भएको छ ।
जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ इनर्वा मल्हनीयाँदेखि शहिदनगर नगरपालिकाको वडा नं. ३ यदुकूहासम्म कालोपत्रे सडकको शनिबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले शनिबार दिउँसो बन्न लागेको कालोपत्रे सडकको शिलान्यास गरेका हुन् । पूर्वी सीमावर्ती क्षेत्रमा गाउँ–गाउँ जोडने पहिलो पटक कालोपत्रे सडक निर्माण हुन लागेको हो ।
जनकनन्दिनी गाउँपालिकाको वडा नं. १ मै पर्ने सीमावर्ती गाउँ इनर्वादेखि मल्हनीया–फुलबरिया–बनरझुला–साघारा चोक हुँदै टरिया लक्कड–सखुवा मडान तथा नरहा नाथपट्टि हुँदै ताराटोल–यदुकूहा बजारसम्म ८ किलोमिटरको कालोपत्रे सडक निर्माण हुन लागेको हो । लक्ष्मणरेखा नामक कन्सट्रक्सन कम्पनीलाई परेको सो ठेक्काको प्राथमिक लागत १२ करोड रुपैयाँ रहेको छ । आईतबार (भोली) देखि नै कालोपत्रेको कार्य सुरु हुने जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले जानकारी दिए ।
यादवका अनुसार, शहिदपथको सडक सँजालसँग पहिलो पटक सीमावर्ती क्षेत्रको अन्तिमसम्म कालोपत्रे सडक बन्न लागेको हो । सो सडक बनेपछि व्यापारिक दृष्किोणले समेत यहाँका व्यापारीहरुलाई लाभ हुने बताए ।
जिल्लाको पिछडिएको तथा दुर्गम ठाउँ मानिएको इनर्वा, मल्हनीयाँ जस्तो ठाउँमा समेत कालोपत्रे सडक जाने भएपछि स्थानीयहरुको खुसीको सीमा रहेनन् । कच्ची बाटो, हिलो मात्र देखेका जेष्ठ नागरिकहरुले गाउँमै कालोपत्रे आउने भएपछि विकास र स्थानीय सरकारको अनूभूति भएको सुनाए ।
धनुषा निर्वाचन क्षेत्र नम्बर २ का तत्कालिन प्रतिनीधिसभा साँसद उमाशंकर अरगरियाले निर्वाचन क्षेत्र रणनैतिक सडक योजना अन्तर्गत सडक डिविजन कार्यालय जनकपुरबाट योजना ल्याएका थिए । गत बर्ष नै ल्याएको योजनामा काम भएको थिएनन् ।
शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष यादवको जेष्ठ नागरिकहरुले आर्शिवाद थाप्दै प्रशँसा गरे । अब यदुकूहादेखि नेपाल–भारतको बोर्डरसम्म आवतजावत निर्वाध हुने भएको छ ।