2024-04-28

Close
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवकै गाउँमा विद्यालय भवन भत्काएर मन्दिर निर्माण भइरहेको छ । भवन अभावमा भने विद्यार्थी खुल्ला आकाशमूनि पढ्न बाध्य छन् ।

सिम्रौनगढ नगरपालिका २ सलेमपुर स्थित ऐतिहासिक सिम्रौनगढ दरबारको प्रवेशद्वारमै रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको यस्तो दयनीय अवस्था रहेको पाइएको छ ।

सोमबार दिउँसो ३ बजे पुग्दा विद्यायको प्रांगणमै पठनपाठन भइरहेको थियो । विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म विद्यार्थीको संख्या ५० कटेको थिएन । जाडो बिदापछि दुई दिन अघि मात्र विद्यालय खुल्दा विद्यार्थी कम आएको प्रधानाध्यापक तुल्सी चौरसियाले बताए ।

‘छेउछाउको कतिपय विद्यालय खुलेको पनि छैन । हाम्रो दुईदिन अघि मात्र विद्यालय खुल्यो । विस्तारै विद्यार्थीको संख्या बढ्छ’, उनले भने ।
लुगाफाटो भेषभुषाले बालबालिका प्रायः विपन्न परिवारकै रहेको बुझ्न खासै अप्ठेरो पनि थिएन । विद्यालयको दृश्य विचित्रको थियो । शिक्षक कक्षाकोठा भवन अपुगले मिश्रित रुपमै कक्षामा पढाइ भइरहेको थियो ।

चौरमा बाल विकास, १ र २ का विद्यार्थीलाई एकै ठाउँमा राखेर बालविकासकी शिक्षिका आशा कुमारीले पढाउँदै थिइन् । छेउमै कक्ष ३ का विद्यार्थीर्ला प्रअ चौरसिया पढाइरहेका थिए भने भित्र एउटै कक्षाकोठामा कक्षा ४ र ५ का विद्यार्थीलाई शिक्षिका सुनिता कुमारी पढाउँदै थिइन् । कक्षा ४ र ५ को संयुक्त कक्षाकोठामा विद्यार्थी संख्या १० कटेको थिएन ।
दैनिक २ देखि ढाईसयसम्म विद्यार्थी नियमित विद्यालय आउने गरेको प्रअ चौरसियाको दावी छ । उनका अनुसार विद्यालयमा करिब पौने ४ सय विद्यार्थी अध्ययनरत्त छन् ।
जस्ताले छाएको र छत भएको दुई भवनको २–२ वटा गरी चारवटा कक्षा कोठा छ । दुईकोठे भवनमा भित्र पलास्टर भएको छैन । नत झ्यालको पल्ला लगाइएको छ । एउटामा जेनतेन विद्यालको कार्यालय छ । डेस्कबेन्चको अवस्था ठीक छैन ।

एक बालविकास र कार्यालय सहयोगी गरी पाँचजना छन् । सबैले पढाए मात्रै सबै क्लास चल्छ । नभए सम्भव नभएको प्रअ चौरसियाको स्वीकारोक्ति छ ।
‘कक्षा कोठा र शिक्षक अभाव छ । एकजना शिक्षक आएन भने यसरी नै कक्षाकोठा मिक्स गरेर पढाउनु पर्छ । कार्यालय सहयोगी ललिता मुखियाले पनि पढाउनु हुन्छ । तर पनि पुग्दैन’
विद्यालय भवनको अभावमा विद्यार्थी चौरमा पढ्न बाध्य छन् । तर छेउमै भने दुर्गा मन्दिर निमार्णाधीन छ । अझ रोचक के भने त्यो मन्दिर विद्यालयको भवन भत्काएर निर्माण भइरहेको छ । भत्काइएको सो भवनमा पहिला पढाइ हुने गरेको थियो । जीर्ण भएपछि एक वर्ष अघि भत्काएर त्यहाँ मन्दिर निर्माण भइरहेको स्थानीय भैरवलाल प्रसाद यादव बताउँछन् ।
मुख्यमन्त्री यादवकै निर्देशनमा विद्यालयको भवन भत्काएर मन्दिर निर्माण गरिएको स्थानीय बताउँछन् । जसमा सबै गाउँले सहमत भए ।

‘स्कुलको भवन पुरानो भइसकेको थियो । मुख्यमन्त्रीको आदेश थियो, त्यसलाई भत्काएर दुर्गा मन्दिर बनाउनु पर्यो । जसमा सबै गाउँले सहमत भयो’ मुख्यमन्त्रीका छिमेक समेत रहेका भैरवलाल प्रसाद यावल भन्छन् ‘आवश्यक्ता त विद्यालय र मन्दिर दुबैको छ’

उनका अनुसार विद्यालय पूरानो भवन भत्काउँदा नयाँ भवन बनाउने कुरा पनि भएको थियो । तर बिबादको कारणले बनेन । मुख्यमन्त्री यादवको घर विद्यालयबाट करिब दुईसय मिटरको दुरीमा छ ।

मुख्यमन्त्री यादवको शिक्षाप्रतिको सोँच र उदासिन्तालाई गिज्याइरहेको छ । हुन त यसैपनि मधेश प्रदेशमा शिक्षा र स्वास्थ्य भन्दा मठमन्दिर, चौतारो र पोखरी सौन्दर्यकरणमा सरकारले बढी प्राथमिकता राखेर बजेट बिनियोजन गर्ने गरेको गुनासो छ । त्यो गुनासो सत्य हो भन्ने कुरा यो विद्यालयको दृश्यले पुष्ट्याइ गरिरहेको छ ।
ऐतिहासिक सिम्रौन गढ दरबार रहेको रानीवास मठको करिब ५ कठ्ठा जग्गामा २०४६ सालमा स्थानीयले नै विद्यालय स्थापना भएको थियो । पूरानो जीर्ण भवन भत्काउने बेला भवन बनाउने कुरा हुँदा पनि अहिलेसम्म नभएकाले कक्षाकोठाको अभाव रहेको प्रअ चौरसियाको दुखेसो छ ।

‘भत्काउने बेला नै भवन बनाउने कुरा थियो । तर अहिलेसम्म बनेन । शिक्षक अभाव नै छन्’ प्रअ चौरसिया दुखेसो पोख्छन् ।
मुख्यमन्त्रीसहित स्थानीय जनप्रतिनिधिको कारणले विद्यालयको यो दुर्गति रहेको स्थानीयको गुनासो छ । खास गरी गरिबका बालबालिका पढ्ने यो विद्यालयप्रति सबै हेय दृष्टिकोणले हेर्ने गरेका छन् ।

विद्यालयमा भवन र शिक्षक आवश्यक्ता रहेको सम्बन्धित निकायमा गुनासो गर्दा अहिलेसम्म स्थानीय जनप्रतिनिधिले कुनै वास्ता नगरेको प्रअ चौरसियाको गुनासो छ ।
‘मुख्यमन्त्री सरोज यादवले चाहनु भयो भने केही असम्भव छैन । मन्त्री, सभामुख हुँदै अहिले प्रदेशकै मुख्यमन्त्री हुनुभएको छ’ प्रअ चौरसिया भन्छन् ।
सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कल्वारले त्यहाँ विद्याल साँघुरो ठाउँमा भएको र पूरानो भवन जीर्ण भएकाले भत्काएर मन्दिर बनाउन लागिएको स्वीकारे । विद्यालय भने अन्यत्र सार्ने योजना रहेको तर जग्गा बिबादको कारण मधेश सरकारबाट आएको २५ लाख बजेट फ्रिज भएको उनको तर्क छ ।

‘विद्यालयको भवन जीर्ण थियो । त्यसलाई गत वर्ष भत्काएर मन्दिर बनाउने काम भयो । विद्यालय रानीवास मठकै एक किलोमिटर पर रहेको जग्गामा बनाउने तयारी थियो । तर मठको जग्गा ठेक्का लिएका व्यक्तिले नमानेपछि भवन बनेन । २५ लाख बजेट फ्रिज भयो’ मेयर साहले भने ।

उनका अनुसार विघौं जग्गा रहेको ठाउँमा १५ कठा जग्गा विद्यालयलाई दिने निर्णय भएको छ । त्यसमै बिबाद समाधान गरेर विद्यालय बन्ने उनको तर्क छ ।
त्यति मात्र होइन चालु आर्थिक वर्षको ७ महिनादेखि शिक्षकले तलब खान पाएका छैनन् । मेयर साह जसपाका हुन् । यस नगरपालिकामा मेयर र काँग्रेसका उपमेयर र वडाध्यक्षबीच बिबाद चलिरहेको छ ।

करिब डेढ महिना अघि यसै नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर गराउने बिबादमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको थियो । २९ वटा विद्यालय रहेको यस पालिकामा कुनै पनि विद्यालयमा दरबन्दी पुग शिक्षक नरहेको मेयर साहले बताए । जसको कारण पठन पाठन प्रभावित हुने गरेको छ ।
मेयर साहले कोलेनिकाले नगरपालिकामा लेखापाल नदिँदा महिनौदेखि कसैलाई पनि तलब खुवाउन नसकेको दुखेसो पोख्छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds