विनय आजाद
म पछिल्लो दुई-तीन दिनदेखि सिरहाका विभिन्न गाउँ-ठाउँ घुमिरहेको छु । अहिलेका पत्रकार र पत्रकारिताप्रतिको आम दृष्टिकोण बुझिरहेको छु । जिल्लाका ‘इस्यूज’हरू सशक्त ढंगले किन उठान हुन सकिरहेको छैन ? यसका कारणहरू पहिचान गरिरहेको छु ।
यसक्रममा जे पाएँ, त्यो उदेकलाग्दो छ । एउटा समय थियो – जतिबेला जनताले पत्रकारलाई आफ्ना प्रतिनिधि बुझ्थे । सत्ता र शासकको सदावहार प्रतिपक्ष बुझ्थे । त्यसैले समाजले पत्रकारलाई असाध्यै सम्मान र माया पनि दिन्थ्यो ।
तर, अचेल पत्रकारलाई भूइँ मान्छेले सत्ता र शासकको दलाल बुझ्न थालेका छन् । त्यो किनभने पत्रकारको भेषमा कतिपय व्यक्तिहरू प्रहरी, प्रशासनको घुमुवाको रूपमा काम गर्ने, हरेक अवैध धन्दा गर्नेहरूसँग महिनावारी खाने, सरकारी कार्यालयबाट तेल, विज्ञापन र काम उठाउने धन्दामा तल्लीन देखिएका छन् ।
उनीहरू तिनै व्यक्तिहरू हुन्, जसले एक अक्षर र वाक्य ठिक ढंगले लेख्न सक्दैनन्, अरूबाट लेखाउन लगाएर वा अरूले लेखेको समाचार कपी गरेर आफूलाई पत्रकार दावी गर्छन् । यतिमात्रै होइन, कतिपयले लेख्न जाने पनि त्यसको आडमा अवैध सम्पत्ति आर्जन गर्नका लागि पत्रकारिता गरिरहेका छन् ।
यसकारण जो विशुद्ध रूपमा निष्ठापूर्वक पत्रकारिता गर्दैछन्, उनीहरूप्रति बुझ्नेहरूले सम्मान देखाइरहे पनि भूइँका नागरिक भने सकारात्मक छैनन्, विश्वस्त छैनन् । पत्रकारिता राष्ट्रको चौथो अंग हो । त्यसैले यसलाई सम्मानित र महत्वपूर्ण पेशा मानिन्छ । तर, अहिले यी कारणहरूले गर्दा पत्रकारलाई समाज गम्भीरतापूर्वक लिनै छाडिसके ।
पत्रकारिता क्षेत्रका लागि यो गम्भीर विषय हो । पत्रकारिताको अस्तित्व रक्षा गर्न, पत्रकारितालाई गैरपत्रकारहरूबाट बचाउन ‘प्रोफेसनल’ र निष्ठावान पत्रकारहरूले सशक्त ढंगले लाग्नुपर्ने देखियो । किनकि, देश र समाज राजनीतिभन्दा बढी पत्रकारिताले बिगार्छ । यसको उदाहरण भारत हो ।