अप्पन जनकपुर
जनकपुरधाम । नेपाल बुद्धिजीवी परिषदको मधेस प्रदेश अध्यक्षमा रास बिहारी यादव निर्वाचित भएका छन् । जलेश्वरमा शनिबार सम्पन्न मधेस प्रदेशको दोस्रो अधिवेशनले यादवलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
परिषदको उपाध्यक्षमा डा. अखतर आलम, सचिवमा सुनिल झा, सहसचिवमा महादेव राउत चयन भएका छन् ।
अधिवेशनमा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बुद्धिजीवी परिषदको पार्टीसँगको सम्बन्ध ‘टु इन वान’ रहेको बताए । तपाईंहरू पार्टीसँग नजिकबाट जोडिनुभएको छ, उनले भने, साथै तपाईंहरू बौद्धिक समुदायलाई प्रतिनिधित्व पनि गर्नुहुन्छ, उनले भने, पार्टीसँगको सम्बन्धको वकालत गर्दा पेसागत क्षमता र दक्षताको कुरा पछि पर्ने र पेसागत दक्षताको वकालत गर्दा पार्टीसँगको सम्बन्ध कमजोर हुने असन्तुलित स्थिति तपाईंहरूसामु छ । तर, यसलाई असन्तुलित हुने छुट तपाईंहरूलाई छैन । यसलाई थप परिष्कृत बनाएर लैजानुपर्छ ।
एमाले मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डले राम्रो काम गर्दा पनि पार्टीविरुद्ध चौतर्फी आक्रमण भइरहेको बताए । कार्यक्रममा बुद्धिजीवी परिषदका केन्द्रीय दिनेश चन्द्र देवकोटा, डा. बधिन आचार्य, श्याम गोईत यादवलगायत परिषदका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एवं सदस्यको उपस्थिति रहेको थियो ।