जनकपुरधाम । नयाँ नेतृत्व चयन गर्नेगरी नेपाल राष्ट्रिय शिक्षक संगठन धनुषाको १४ औं जिल्ला अधिवेशन जनकपुरधाममा सुरु भएको छ । उक्त अधिवेशनको पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगरियाले उद्घाटन गरेका हुन् ।
अधिवेशनका क्रममा संगठनका जिल्ला अध्यक्ष राजेन्द्र साहसहित पूर्वजिल्ला अध्यक्ष र संगठनको श्रीवृद्धिका लागि काम गर्ने अगुवाहरुलाई दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरिएको संगठनका जिल्ला सचिव विश्वनाथ यादवले जानकारी दिए ।
यसरी सम्मानित हुनेमा राजकुमार पंडित, मोहन यादव, दानी ठाकुर, अरुण मिश्र, रामप्रकाश दास, जानकीशरण यादव, हरि काफ्लेसहित रहेका छन् ।
कार्यक्रममा मधेश प्रदेश इन्चार्ज हरि काफ्ले, मधेश प्रदेश अध्यक्ष नरेन्द्र यादव, एमाले जिल्ला सचिव दिपन ठाकुरलगायत अगुवाहरुको उपस्थिति रहेको थियो ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । अध्यक्षका लागि विश्वनाथ यादव र निवर्तमान अध्यक्ष राजेन्द्र साह, कमल बहादुर लामा, मन्जु महतो आकाँक्षी देखिएका छन् ।