रौतहट : एसईई उत्तीर्ण छात्रालाई ‘मेरी जान’ भन्दै म्यासेज पठाएका शिक्षक पक्राउ, विद्यालयमा तोडफोड

जनकपुरधाम । रौतहटको गरुडा नगरपालिका-९ स्थित माध्यमिक विद्यालय गम्हरिया श्रीपुरका छात्रालाई अशिष्ट सन्देश पठाएको आरोपमा शिक्षक रविन्द्रप्रसाद साह पक्राउ परेका छन् ।

शिक्षक साहले हालै एसईई उत्तीर्ण एक छात्रालाई ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखेर म्यासेज पठाएका थिए । छात्राले म्यासेजबारे परिवारलाई सुनाएपछि आफन्तले विद्यालय पुगेर तोडफोड र शिक्षक साहमाथि कुटपिट गरेका छन् ।

बिज्ञापन

विद्यालयमा अवस्था तनावग्रस्त बनेपछि इलाका प्रहरी कार्यालय गरुडाको टोली पुगेको छ । प्रहरीले अश्रुग्यास हानेर स्थिति नियन्त्रणमा लिनुका साथै शिक्षक साहलाई समेत पक्राउ गरेको जनाएको छ ।

तोडफोड र प्रदर्शनका कारण विद्यालयमा पढाइ ठप्प भएको छ । शिक्षक साहमाथि कडा कारबाही हुनुपर्ने आफन्तले माग गरेका छन् ।

ईलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर ओमप्रकाश यादवले शिक्षक साहलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताए ।