लागु औषध ओसारपसारको जालो भत्काउँदै मधेश प्रहरी

जनकपुरधाम । लागु औषधको ट्रान्जिट बन्दै गएको मधेश प्रदेशमा प्रहरीले अभियान नै थाली सेवनकर्ता र कारोबारीविरुद्ध कारबाही अघि बढाएको छ । मधेश प्रदेशका आठै जिल्ला भारतीय सीमासँग जोडिएकाले यही नाकाबाट लागु औषधको कारोबार काठमाडौँसम्म हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

सीमावर्ती भारतीय बजारमा सहज पहुँच र लागु औषधको खुलेआम बिक्रीले दुर्व्यसनी दर मधेश प्रदेशमा उच्च रहेको छ । जनकपुरस्थित मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधिमा करिब २३ करोड मूल्य बराबरको लागु औषध बरामद भएको छ । जसमा ठूलो मात्रामा गाँजा, चरेस, ब्राउन सुगर र अफिम बरामद भएको छ ।

बिज्ञापन

एक वर्षको अवधिमा १५ हजार ४४२ किलोग्राम गाँजा बरामद गरिएको छ, जसको मूल्य १८ करोड ६० लाख रुपैयाँ बराबर छ । त्यस्तै, पाँच सय आठ किलोग्राम चरेस बरामद गरिएको छ, जसको मूल्य एक करोड ११ लाख रुपैयाँ बराबर रहेको छ । १५ लाख मूल्य बराबरको तीन किलो २०० ग्राम ब्राउन सुगर र २५ लाख मूल्य बराबरको ४६ किलोग्राम अफिमसमेत बरामद गरिएको छ । साथै, लागु औषध ट्याब्लेट, इञ्जेक्सन र बोतल गरी तीन लाख ७५ हजार ७३६ थान बरामद भएको छ, जसको मूल्य एक करोड ६७ लाख बराबर छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उमाप्रसाद चुर्तुवेदीले भने, मधेश प्रदेशमा लागु औषधको ठूलै जालो थियो । प्रहरीले अभियान चलाएर आठै जिल्लामा कडाइ गरेको छ । ठूलो संख्यामा कारोबारी पक्राउ परेका छन् र लागु औषध बरामद भएको छ । उनका अनुसार एक वर्षको अवधिमा लागु औषधसम्बन्धी ५८४ वटा मुद्दा दर्ता भएकोमा ५२२ वटा फर्छ्यौट भएको छ ।

प्रहरी तथ्यांकअनुसार मधेश प्रदेशमा आर्थिक अपराध, आत्महत्या, लागु औषध र सडक दुर्घटनामा वृद्धि भइरहेको छ । डीआईजी चुर्तुवेदीले भने, लागु औषधको बढ्दो कारोबार, दुरुपयोग र ओसारपसारको ठूलो सञ्जाल पक्राउ परेको छ । मधेशका नाकाबाट काठमाडौँलगायत अन्य क्षेत्रमा समेत लागु औषध पठाउने र भित्र्याउने गरिएको देखिन्छ । उनले लागु औषध नियन्त्रण र आत्महत्या रोक्न सबै तहको सहकार्य जरुरी रहेको बताए ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधिमा मधेश प्रदेशमा १,२५३ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये २१५ जना पानीमा डुबेर, १३८ जना करेन्ट लागेर र १९ जना आगलागीमा परी मृत्यु भएका छन् ।

प्रहरीले मधेश प्रदेशमा साना हतियार १६ थान र ठूलो हतियार १९ थान बरामद गरेको छ । डीआईजी चुर्तुवेदीका अनुसार मधेश प्रदेशमा तस्करी र राजस्व छलीका घटनामा पनि कडाइ गरिएको छ । उनले भने, तस्करी र राजस्व छली पहिलाजस्तो छैन, तर अपेक्षित रूपमा नियन्त्रण पनि गर्न सकिएको छैन । यसका लागि संयुक्त रणनीति बनाएर सबै साझेदार निकाय एकजुट भएर लाग्नुपर्छ ।

नेपाल प्रहरीले मधेश प्रदेशबाट पछिल्लो एक वर्षमा एक अर्ब ३५ करोड ९७ लाख २७ हजार रुपैयाँ बराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिएको छ ।