

इलाम । इलाममा कालो चितुवा फेला परेको छ । जिल्ला वन कार्यालय इलामले यो दुर्लभ प्रजातिको चितुवा भएको अनुमान गरेको छ ।
सूर्योदय नगरपालिका-२ बागवीरे निवासी टंक काफ्लेको बाख्राको खोरभित्र सोमबार बिहान कालो चितुवा फेला परेको हो ।




आइतबार राति नै आएर खोरमा रहेका दुईवटा माउ बाख्रा र एउटा पाठी खाएर खोरमै बसेको चितुवालाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

डिभिजन वन कार्यालय इलामले यो चितुवाको उद्धारका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोलीलाई जानकारी गराएको छ ।
डिभिजन प्रमुख वीरेन्द्र साहले कालो प्रजातीको चितुवा दुर्लभ मानिने बताए ।
कालो रङको चितुवा इलाममा पहिलो पटक भेटिएको हो । बाख्रालाई घाँस हाल्न जाँदा खोरमा चितुवा भेटिएपछि काफ्लेले हल्लाखल्ला गरेका थिए ।
एक महिना यता बागवीरे क्षेत्रमा चितुवाले स्थानीय किसानका सातवटा बाख्रा खाएको छ ।
त्यसैगरि इलामकै माईजोगमाई–२ का शेरबहादुर गुरुङ, मूल खर्कका हर्कसिहं राई र माईजोगमाई २ बिज्जेका गोपाल खड्काको बाख्रा पनि चितुवाले खाएको छ ।
यो क्षेत्र भारतीय सीमासँग जोडिएको कारण भारतको सिंहलिला नेसनल पार्कबाट चितुवाहरू नेपाल आएको हुनसक्ने अनुमान गरिएको छ ।