निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत छात्रालाई दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

बर्दिबास । निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दिबासमा अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छात्रालाई दुर्व्यवहार रहेको जाहेरीको अधारमा शिक्षालयमा कार्यरत शिक्षक वसन्तप्रसाद यादवलाई नियन्त्रणमा लिएर अभद्र मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बिज्ञापन

ईलाका प्रहरी कार्यालय बर्दिबासमा शिक्षालय र अभिभावकले दिएको जाहेरीको आधारमा शिक्षक यादवलाई नियन्त्रणमा लिएर मंगलबार अभद्र मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अनुसार शिक्षक यादवले छात्रासँग जबर्जस्ती शारीरिक सम्बन्ध बनाएका छन् । परीक्षामा पास गराइदिने भन्दै छात्राहरुलाई दुर्व्यवहार गरेको विद्यार्थीहरुको भनाइ छ । जघन्य घटना भए पनि अभिभावक र शिक्षालयले घटना सार्वजनिक गर्न नदिइ दुर्व्यवहारको मुद्दा चलाएको हो ।

बर्दिबास नगरपालिका–११ खैरमारामा संचालित शिक्षालयका शिक्षकले विद्यार्थीलाई रातिको समयमा फोन गरी धाकधम्की दिएको अडियोहरु बरामद भएपछि शिक्षकलाई कारबाहीका लागि शिक्षालयले नै प्रहरीलाई बुझाएको हो । यसअघि पनि यहाँ अध्ययनरत तीन जना छात्राहरुले २०८१ पुस १५ गते सामूहिक रुपमै विषसेवन गरी आत्महत्याको प्रयास गरेका थिए । विषसेवन गरेका तीन जनामध्ये सिराहा धनगढी नगरपालिका-१० की १७ वर्षीया छात्रा रिङ्कु शर्माको मृत्यु भएको थियो । छात्राको मृत्यु घटनालाई खासै अनुसन्धान नगरी ढाकछोप गरिएको थियो ।