जनकपुरधाम । मधेश सरकारले मधेशी शहीद लोकमार्ग निर्माणको प्रक्रिया तत्कालै अगाडि बढाउने भएको छ । आईतबार भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले पत्रकार सम्मेलनको आयोजना गरी प्रदेशका आठ वटै जिल्ला सरकारले करिब ३११ किलोमिटरको मधेशी शहीद लोकमार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिएका हुन् ।
पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गको मध्य भागमा निर्माण हुने उक्त लोकमार्गलाई मन्त्री यादवले प्रदेशकै स्वाभीमान र गौरवको आयोजनाको रुपमा रहेको बताए । तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलकै पालामा मधेशी शहीद लोकमार्ग निर्माणको योजना बनेका थियो । तर, लामो समय यो योजना अलपत्र परेको थियो ।
मन्त्रालयको दुई महिनाको अध्ययन, अनुसन्धान र खटाइको उपलब्धिपश्चात लोकमार्गको रेखाङ्कन सार्वजनिक गर्न सकेको मन्त्री यादवले जानकारी दिए । ‘अब छिट्टै मन्त्रिपरिषदबाट पारित गरेर टेन्डर प्रक्रियामा जान्छौं,’ उनले भने । रेखांकन सर्वेका लागि टेन्टर लगाइसकिएको र सर्वे डिजाइन गरेर पेश गर्ने सम्झौतासमेत भइसकेको मन्त्री यादवले बताए । उनका अनुसार सर्वे डिजाइनको डीपीआर दुई महिनाभित्र मन्त्रालयमा पेस गरिनेछ । यस आर्थिक वर्षको अन्त्यसम्ममा लोकमार्ग निर्माणका लागि टेन्डर लाग्नेछ । मधेशी शहीद लोकमार्गको डीपीआर निर्माण गर्न २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
लोकमार्गको निर्माण चार चरणमा हुनेछ । पहिलो चरणमा सप्तरीदेखि सिरहासम्म, दोस्रो चरणमा सिरहादेखि धनुषासम्म, तेस्रो चरणमा सर्लाहीदेखि रौतहटसम्म र चौथो चरणमा बारादेखि पर्सासम्म लोकमार्ग निर्माण हुने बताइएको छ ।