धनुषामा ठाढि प्रहरीको सक्रियता : २ सय ५० ग्राम ब्राउन सुगर बरामद, ३६ जना पक्राउ

जनकपुरधाम । नेपाल प्रहरीले धनुषाको विदेह नगरपालिका–१ ठाढि-झिझाबाट नियन्त्रित लागूऔषध ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–७, किसानपुर बस्ने २५ बर्षीय सिकिन्दर राम रहेका छन् । प्रहरीले (सोमबार) अपराह्न चेकजाँचको क्रममा उनको साथबाट ८ ग्राम २ सय ७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

बिज्ञापन

महिनाथपुरबाट किसानपुर पैदल फर्किदै गरेको बेला असई सुरेश कुमार सिंहको कमाण्डमा खटेको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा सर्टको माथिल्लो गोजीमा उक्त परिमाणको लागुऔषध ब्राउन सुगर फेलापरेको हो । पक्राउ परेका रामलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।

यसैगरी गएको कार्तिक २० गते प्रहरीले बर्दिबास नगरपालिका बडा नम्बर ९ बस्ने बर्ष ३० को मुकेशकुमार यादबलाई ब्राउन सुगर ४२ ग्राम ४६० मिलिग्रामसहित १ जना पक्राउ गरेको थियो ।

असई सिंह प्रहरी चौकी ठाढि-झिझा सरुवा भएर आएको २ महिनामा २ सय ५० ग्राम ब्राउन सुगरसहित प्रतिबन्धित लागुऔषध ओसारपसार तथा बिक्री बितरणको आरोपमा ३६ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको धनुषा प्रहरीले जनाएको छ ।