अप्पन जनकपुर
रौतहट । चन्द्रपुर अस्पतालले शनिबार ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण गरेको छ । परीक्षणका क्रममा अधिकांश प्रहरी कर्मचारीको तौल र रक्तचापको समस्या देखिएको छ ।
अस्पतालका चिकित्सक सुभाष चौधरीले ईलाका प्रहरी र जिल्ला ट्राफिकका कर्मचारीको कार्यालयमै गएर स्वास्थ्य परीक्षण गर्दा अधिकांशमा रक्तचाप र तौल बढी देखिएको जानकारी दिए ।
चिकित्सकले सुगर र रगतका विभिन्न जाँच गरेका थिए । अस्पतालका हाडजोर्नी विशेषज्ञ रन्जन तिवारीले पनि प्रहरी कर्मचारीको जाँच गरे । प्रहरी कर्मचारीको शारीरिक अवस्था चुस्तदुरुस्त नहुँदा कार्यसम्पादन तथा सेवाग्रहीलाई समेत असर पर्ने हुनाले प्रहरीलाई स्वस्थ्य राख्न ८१ जनाको नि:शुल्क जाँच गरिएको डीएसपी राजकुमार राईले जानकारी दिए । ‘नियमित व्यायाम र आफ्नो स्वास्थ्यको ख्याल राख्न भनेको छु । व्यायाम गर्दा र नगर्दाका असरबारे सुनाएको छु,’ उनले भने ।
चन्द्रपुर अस्पतालले नि:शुल्क औषधिसमेत उपलब्ध गराएको छ । प्रहरी कार्यालयसँग समन्वय गरी महिनाको एकपटक स्वास्थ्य जाँचको व्यवस्था मिलाउन लागिएको चिकित्सक चौधरीले बताए ।
यसअघि विभिन्न अभियोग लागेर अनुसन्धानका लागि प्रहरी हिरासतमा बसेका थुनुवाको स्वास्थ्य परीक्षण गरिएको थियो । डीएसपी राईले सुरक्षाकै कारण कार्यालयभित्र यस पटक थुनुवाको स्वास्थ्य परीक्षण गराउन नसकिएको बताए ।