
जनकपुरधाम । जनता समाजवादी पार्टि नेपाल (जसपा) धनुषा निर्वाचन क्षेत्र नं.२ को क्षेत्रीय भेला सोमबार जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा सम्पन्न भएको छ ।
भेला जसपा नेपालका केन्द्रीय सदस्य तथा प्रदेश सभा सांसद रामअशिष यादवको प्रमुख आतिथ्यतामा प्रारम्भ भएको थियो । कार्यक्रममा केन्द्रीय, प्रदेश, जिल्ला संरचना सहित भातृ संगठनका प्रतिनिधि, अगुवा कार्यकर्ता र स्थानीय नेतृत्वहरूको उल्लेख्य उपस्थिति रह्यो ।




भेलाले पार्टी संगठनलाई अझ मजबुत र प्रभावकारी बनाउने उद्देश्यसहित आगामी राजनीतिक गतिविधिबारे विस्तृत समीक्षा तथा योजनामूलक छलफल गरेको थियो ।

संगठन विस्तार, स्थानीय स्तरसम्म पहुँच अभिवृद्धि, पार्टीका एजेण्डा जनतामा प्रभावकारी रूपमा प्रस्तुत गर्ने उपायहरूबारे सहभागीहरूबीच गम्भीर छलफल भएको जानकारी आयोजकहरूले दिएका छन् ।
नेतृत्व चयनको एजेण्डा अत्यन्तै महत्वपूर्ण विषयको रूपमा रहेको भेला अन्त्यमा युवा क्रान्तिकारी नेता तथा जनकनन्दनी गाउँपालिकाका निर्वाचित मेयर दिपिनदेव यादवलाई क्षेत्रीय अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरिएको घोषणा गरिएको छ ।
सबै पक्षबाट सहमति जुटाउन सफल यस निर्णयलाई सहभागीहरूले संगठनमा एकता, विश्वास र निरन्तरताको सूचकका रूपमा वर्णन गरेका छन् । भेलामा रहेका वक्ताहरूले दिपिनदेव यादवको ऊर्जावान व्यक्तित्व, संगठनात्मक नेतृत्व क्षमता तथा जनसंगठनमा सक्रिय भूमिकाको प्रशंसा गर्दै क्षेत्र नं–२ को पार्टी संरचनालाई नयाँ उचाइमा पु¥याउने बताएका छन ।
नयाँ नेतृत्वको जिम्मेवारीसँगै पार्टीले स्थानीय तहदेखि प्रदेश तहसम्म आफ्नो गतिविधि सशक्त रूपमा विस्तार गर्ने र जनतामाझ उपस्थितिलाई अझ मजबुत बनाउने रणनीतिहरू समेत पारित गरिएको भेला सहभागीहरूले बताएका छन् ।
