
जनकपुरधाम । जाडोयाम सुरु भएसँगै तराई मधेस क्षेत्रमा बाक्लो हुस्सु र शीतलहरका कारण सडक दुर्घटनाको जोखिम बढ्न थालेपछि धनुषा जिल्लामा ट्राफिक सचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै अभियानकै रूपमा सञ्चालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्राप्त सडक दुर्घटना विरुद्ध युवा २०८२, कार्ययोजनाअन्तर्गत सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ ।




अभियानका क्रममा सवारी साधनहरूमा रिफ्लेक्टिभ स्टिकर टाँसिनुका साथै चालक, सह–चालक र यात्रुहरूलाई लक्षित गर्दै सडक सुरक्षा सम्बन्धी जानकारी प्रदान गरिएको छ ।

कार्यक्रममा सडक दुर्घटना हुने प्रमुख कारण, हुस्सु र कम दृश्यताका बेला अपनाउनुपर्ने सावधानी, रक्षात्मक सवारी चलाउने तरिका, ट्राफिक नियम र सडक अनुशासन, जिम्मेवार सवारी संस्कृतिको विकास तथा कानुनी पक्षबारे प्रशिक्षण र सचेतना दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिए ।
ट्राफिक प्रहरीले जाडोयाममा विशेषगरी बिहान र साँझको समयमा गति नियन्त्रण, बत्तीको सही प्रयोग र सुरक्षात्मक उपाय अपनाउन सबै सवारी चालकलाई आग्रह गरेको छ ।
स्थानीय तह, युवा स्वयंसेवक र सरोकारवाला निकायको सहकार्यमा सञ्चालन भइरहेको यो अभियानले सडक दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।
