
अनिलकुमार कर्ण
जनकपुरधाम, पुस १५ गते । मानसुन सुरु हुनेबित्तिकै अझ मानसुन आउने सङ्केत देखा पर्न थालेपछि सप्तरीको खाँडो नदीछेउका किसानहरू बालीनाली र वस्तुगोठ जोगाउन मरिहत्ते प्रयास गर्न थाल्छन् । नदीमा आउने बेलगाम बाढीको पानी बस्तीमा पसेर घरखेत डुबानमा पर्ने पिरलो बर्सेनि भोग्दैआएका त्यहाँका बासिन्दाका लागि बर्खाको मौसम काठबाँस, ढुङ्गामाटो र जुटप्लास्टिकका बोरा जोरजाम गर्ने समय पनि हो । उनीहरू नदीको पानी बस्तीतिर आउने ठाउँमा ससाना र अस्थायी बाँध बनाउन उनीहरूलाई ती सामग्रीको जोहो गर्नुपर्ने भार रहन्छ । तर, नदीको सतह तथा खेतको तह बराबर र कतैकतै खेत नै नदीभन्दा होचो भएकाले गाउँसम्म बाढी पसेर जलजमाव हुनु नियति नै बनेको छ । घरआँगनमा डाढभन्दा माथिसम्म पानी जम्दा भने उनीहरूले सुत्नबस्न मात्र होइन बाली र चौपाया जोगाउन साबिक व्यवहारमा रहेका ठाउँ अग्लो बनाउने गर्छन् ।
जिल्लाको तिलाठीकोईलाडी गाउँपालिकाका रविन सिंह भन्छन्, ‘बाढीले स्थानीयको धुर्कापानी नै बगाउँछ । कयौँ दिनसम्म च्युरा र दालमोठका भरमा दानापानी चलाउनुपर्छ । वस्तुभाउलाई खुवाउन कठिन नै हुन्छ ।’ उनका अनुसार जलजमावका बीच जेनतेन धानिने जिन्दगीमा पकाएर खाने कुरा एकादेशको कथा बन्छ । अन्न जोगाउने सङ्र्घषमा अन्न पकाउने काम मुश्किलमात्र होइन असम्भव नै हुन्छ ।
खाँडो नदीको बाढीले तटीय क्षेत्रका सप्तरीबासीको यस्तो दुःख पूर्व–पश्चिम राजमार्गबाट दक्षिणी सीमासम्मका बस्तीमा देखिन्छ । बस्ती डुबानमा पर्दा त्यस क्षेत्रका बासिन्दा निश्चित अवधिसम्मका लागि घरवारविहीन नै हुनेगर्छ । समयसँगै यो समस्या बर्सेनि दोहोरिन्छ । बाढी आउँछ, जान्छ । तर, यसको दुष्प्रभावले भने स्थानीयलाई सालौसाल पछ्याइरहेको हुन्छ । बाढीका कारण अन्नद्रव्य गुमाउने किसानको उत्पादन गुम्दा आम्दानी र जीवनस्तरमै प्रतिकूल असर पर्छ । ‘कुनै एउटा सालको कठिनाइको भर्पाई गर्न सकिन्छ । तर, सधैँको सकस बिसाउन नसकिने रहेछ ,’ स्थानीय शिक्षक राजीव झा दुखेसो पोख्छन् ।
जिल्लाको दक्षिणी सीमान्त गाउँ तिलाठीकोईलाडीका बासिन्दालाई बाढीको रहस्य थाहा छ । त्यो भनेको नेपाल भारत सीमा अर्थात् दशगजा पारि नदीसँगै भएको सडक निर्माणबाट नदीको प्रवाह साँघुरिएको वा थुनिएको । यो एउटा कारण हो, तर पहिलो, महत्त्वपूर्ण र प्राथमिक होइन । जलउत्पन्न प्रकोप नियन्त्रणविज्ञ मनोहरकुमार साह भन्छन्, ‘जलको प्रवाह पानीढलोबाट दक्षिणतर्फ नै जाने हो । तर, पानीसँगै बगेर आउने गेग्रानले नदीको भूभाग पुरिँदा पानीले बस्ती ताक्न थालेको हो ।’ उनका अनुसार पल्लो गाउँतिर नदीमा हुने अवरोधले वल्लो गाउँ प्रभावित नहुने होइन, तर माथ्लो तट र गाउँनजिक नदीको अवस्थाले जोखिम बढाउनेगर्छ ।
बाढीले स्थानीयमा असुरक्षा र अप्ठ्यारा सिर्जना गरिरहँदा पनि बाढी आउने विषयमा ठोस तथा निश्चयात्मक कुरा केलाउने काम भएको छैन । त्यसैले बाढी न्यूनीकरण गर्ने सरकारी उपायसमेत यस क्षेत्रमा अस्थायी तटबन्ध बनाउने र पूर्वसूचना प्रणाली स्थापना गर्नेजस्ता आवश्यक तर आकस्मिक काममा सीमित भएका छन् । यसले बचाव तथा राहत कार्य प्रभावकारी बनाउने भए पनि दीर्घकालीक हुँदैन । अर्का जलउत्पन्न प्रकोप नियन्त्रण विज्ञ एकराज भट्टराई भन्छन्, ‘सप्तरीको खाँडो खोलामा आउने बाढी प्राकृतिक प्रकोपमात्र होइन, मानवीय कारण पनि छ ।’ चुरेक्षेत्रको वनविनाश, बस्तीलगायतका पूर्वाधार विकास, चरिचरण, प्राकृतिक स्रोतको दोहन र माथिल्लो भेगमा भूउपयोगको गलत अभ्याससँगै जलाधार क्षेत्रमा आएको संकुचनका कारण बग्ने गेग्रान (माटो, ढुंगा, गिटी र बालुवा) थेग्रिएर खोलामा बाढी आउने गर्छ । चुरेको प्राकृतिक संरचनाको क्षयीकरण र यसको दुष्प्रभावका रूपमा पारिस्थितिकीय प्रणालीमा आएको असन्तुलनले नदी प्रणालीको माथिल्लो तटीय क्षेत्रमा बर्खाको पानी सोस्ने र अड्ने प्रक्रिया कमजोर बनेको छ । जसले गर्दा अपेक्षित परिमाणमा जलाधार क्षेत्र पुनर्जलीयकरण हुन सकेको छैन।
यस्तोमा पानी पर्नेबित्तिकै पानीको बेरोकटोक प्रवाहसँगै खुकुलो र मलिलो माटोले बनेको चुरे पहाड बगेर आउने गर्छ । वरपरका बस्ती डुबानमा पर्ने गरेका छन् । यसरी चुरेबाट बगेर आउने गेग्रान (माटो, ढुंगा, गिटी र बालुवा) खोलामा थेग्रिँदै गएको छ । जसले गर्दा नदीको सतह बर्सेनि बढ्नुका साथै हरेक वर्षको बाढीले तल्लो तटीय क्षेत्रमा खोलाको चौडाइ पनि बढाउँदै लगेको पाइन्छ । नदीको बढ्दो सतह र चौडाइले गर्दा खाँडो खोला वर्षौंयता निरन्तर बहाव क्षेत्र परिवर्तन गर्दैआएको छ । अस्थिर र घुमाउरो बहावका कारण कोसी नदीको यो सहायक नदीलाई अत्यन्त संवेदनशील मानिँदै आएको छ ।
कुनै बेला दुईवटा हात्ती डुब्ने भनिएका खोला खहरे हुने र यसले बगाएर ल्याएको गेग्रानले हजारौं हेक्टर खेतीयोग्य जग्गालाई मरुभूमि बनाएपछि र जलाधार क्षेत्रमा पानी सञ्चितिको अभावमा खडेरी आउन थालेपछि पछिल्ला केही वर्षमा चुरे संरक्षणप्रति संवेदनशीलता बढेको छ । यो संवेदनशीलतालाई चुरे, भावर र दून क्षेत्रमा खानेपानीसम्मको अभावले थप बढाएको छ । तर चुरे संरक्षणको कार्य अझै एकीकृत, समन्वित, प्रभावकारी र परिणाममुखी देखिएको छैन । कम लागत र कनिकाझैं छरिने योजनाका कारण चुरे संरक्षण कार्य गति आवश्यकताअनुसार अघि बढ्न नसकेको गुनासो यस कार्यमा संलग्न सरकारी अधिकारीहरूकै छ । तत्कालका लागि खाँडो नदी प्रवाहित हुने चुरे क्षेत्रमा वृक्षरोपण, अनुचित मानवीय गतिविधि र चरिचरणमा रोक, चेकड्यामजस्ता संरचना बनाएर गल्छी नियन्त्रण र पूर्व–पश्चिम राजमार्गभन्दा उत्तरी क्षेत्रमा ४ दशमलव ५४ किलोमिटरमा खहरे खोलाबाट चुरेलाई थप क्षतिग्रस्त हुनबाट जोगाउन अन्य संरचना नबनाइए बाढी रोकथामका अन्य प्रयास सार्थक नहुन सक्छ ।





