
जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सालिकराम तिमिल्सिना उत्कृष्ट प्रहरी घोषित भएका छन् । बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले उनलाई गत पुस महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
पछिल्लो असोजदेखि सिरहा ट्राफिक प्रहरी प्रमुखको रुपमा कार्यरत उनले विभागीय मूल्य मान्यता, आदेश निर्देशन बमोजिम कर्तव्यनिष्ठ, अनुशासित, लगनशील रुपले स्थानीय सरकारसँगको समन्वयमा प्रभावकारी प्रशासनिक कामकाज संचालन, तालुक मधेश प्रदेश प्रहरी कार्यालयबाट स्वीकृत सडक दुर्घटना विरुद्ध युवा २०८२ कार्ययोजना कार्यन्वयनमा उल्लेखनीय काम गरेको ठहर गरिएको छ ।




उनको नेतृत्वमा सवारी दुर्घटना न्यूनीकरण गरी भौतिक तथा मानविय क्षतिमा कमी ल्याउनुका साथै ब्ल्याक स्पट पहिचान गरि ल्याएको, आवश्यकता अनुसार रिफ्लेक्टिभ बोर्ड, टेप, स्टिकरहरु टाँस, जाडोयाममा बाक्लो हुस्सुका कारण हुने दुर्घटनाको उच्च जोखिम घटाउन सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय गरिएको उल्लेख छ ।

त्यसका साथै विभिन्न भिभिआइपी र भिआइपीको सवारीमा प्रभावकारी ट्राफिक व्यवस्थापन, कार्यकुशलता, इमान्दारिता र कर्तव्यनिष्ठामा उल्लेखनीय भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको कार्यालयले जनाएको छ । त्यसले प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्न गई कार्य सम्पादनमा अझ बढी प्रभावकारिता आउने ठहरसहित प्रहरी नियमावली २०७१ ९संशोधन सहित० को परिच्छेद १५ को नियम १९७ को उपनियम ९ख० बमोजिम प्रोत्साहन स्वरूप एक हजार तीन सय रुपैयाँ नगदसहित पुस महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मानित गरिएको हो ।
