सशस्त्र प्रहरीको बार्षिकोत्सव : धनौजी बीओपी उत्कृष्ट घोषित

काठमाडौं । सशस्त्र प्रहरी बलको धनुषास्थित बोर्डर आउट पोष्ट (बिओपी) धनौजी यस बर्ष प्रथम स्थान हासिल गरी उत्कृष्ट भएको छ ।

सशस्त्र प्रहरी बलले प्रत्येक बर्ष वार्षिकोत्सवमा उत्कृष्ट युनिट छनोट गर्दै आइरहेकोमा यस वर्ष मधेश प्रदेशस्थित धनुषाको बीओपी धनौजी प्रथम स्थान हासिल गरी उत्कृष्ट भएको हो ।

बिज्ञापन

आन्तरीक निरीक्षणको क्रममा नेपाल–भारत सीमासँग जोडिएको मधेश प्रदेशका ७२ वटा बिओपी मध्ये धनौजीले ८० प्रतिशत भन्दा बढी अंक प्राप्त गरी प्रथम भएको हो ।

सीमानाकामा हुने अवैध गतिविधि, तस्करी नियन्त्रण र सुरक्षा जोखिम रोक्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको सशस्त्र प्रहरी निरीक्षक दीपक थापाले बताए । कार्यालय सञ्चालनका लागि बिभिन्न स्थानीय निकायसँगको समन्वयमा भौतिक पूर्वाधार निर्माणसँगै फर्निचर, कार्पेट लगायतका सर–सामानको व्यवस्था गरेको उनले जानकारी गराए ।

त्यस्तै कार्यालयको पेरिमिटरमा पिकेट, कन्सर्टिना र बारबेर वायर, क्रल ट्रेन्च निर्माण, बृक्षरोपण, माछापोखरीे, खेल मैदान निर्माण, ड्युटी पोस्ट निर्माण, लाइट जडान लगायतका कार्यहरु सम्पन्न गरेको सशस्त्र प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

यसैगरी धनौजी बिओपीले ६ महिनाको अवधिमा करिव ३९ लाख रुपैयाँ बराबरको अवैध माल समान पक्राउ तथा बरामद गरी भन्सार दाखिला गरेको छ ।