
जनकपुरधाम । चिसो मौसमसँगै बाक्लो हुस्सु र शीतलहर बढ्दै गएपछि सडकमा सवारी दुर्घटनाको जोखिम बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले सवारी चालक तथा यात्रुहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
धनुषा ट्राफिक प्रहरीले सुरक्षित यात्राका लागि चिसो मौसममा सवारी चलाउँदा अपनाउनुपर्ने सावधानीसम्बन्धी निर्देशन जारी गरेको हो ।




धनुषा ट्राफिक प्रहरीका अनुसार हुस्सु र शीतलहरका कारण दृश्यता अत्यन्तै कम हुने भएकाले सवारी साधन चलाउँदा हेडलाइट लो बिम वा फग लाइटको प्रयोग गर्नुपर्नेछ । साथै यात्रा अघि सवारी साधनको ब्रेक, बत्ती, वाइपर, टायरलगायतका प्राविधिक अवस्था अनिवार्य रूपमा जाँच गरेर मात्र सडकमा निस्कन आग्रह गरिएको छ ।

शीतलहरका कारण सडक चिप्लो हुने सम्भावना उच्च रहने भएकाले सवारीको गति नियन्त्रणमा राख्न र अचानक ब्रेक नथिची बिस्तारै प्रयोग गर्न धनुषा ट्राफिक प्रहरीले सुझाव दिएको छ । सवारी चालकले सिट बेल्ट अनिवार्य रूपमा बाँध्नुपर्ने, दुई पांग्रे सवारी चालकले हेल्मेट सही तरिकाले लगाएर फित्ता बाँध्नुपर्नेमा पनि जोड दिइएको छ ।
हुस्सु लाग्दा अन्य सवारी र पैदल यात्रुले सजिलै देख्न सक्ने गरी टल्किने रिफ्लेक्टिभ ज्याकेट वा कपडाको प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । सवारी चलाउँदा मोबाइल फोनको प्रयोग नगर्न, लेन अनुशासनको पालना गर्न र आवश्यक कागजात सधैं साथमा राख्न पनि निर्देशन दिइएको छ ।
चिसो मौसममा बाक्लो कपडाका कारण चालकको प्रतिक्रिया समय प्रभावित हुन सक्ने भएकाले पञ्जा र उपयुक्त जुत्ताको प्रयोग गरी सवारी चलाउन सुझाव दिइएको छ । क्षमताभन्दा बढी यात्रु नचढाउन र ब्रेकले अपेक्षित रूपमा काम नगर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सुरक्षित दूरी कायम गरेर सवारी चलाउन धनुषा ट्राफिक प्रहरीले अपिल गरेको छ ।
लागू पदार्थ तथा मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुन विपरीत र जोखिमपूर्ण हुने भन्दै ट्राफिक प्रहरीले यस्तो कार्य नगर्न कडा चेतावनी दिएको छ । साथै दृश्यता कम हुने अवस्थामा जथाभावी ओभरटेक, हाईस्पिड ड्राइभिङ वा जिगज्याग शैलीमा सवारी नचलाउन पनि सचेत गराइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्रा सबैको कामना’ भन्ने सन्देशसहित चिसो मौसमभरि ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ । धनुषा ट्राफिक प्रहरीका अनुसार चालक र यात्रु दुवैको सचेतताले मात्र दुर्घटना न्यूनीकरण सम्भव हुने भएकाले सबैले नियमको पालना गर्नुपर्नेमा जोड दिइएको छ ।
