
खोटाङ । नेकपा एमालेकी चर्चित जेन्जी नेतृ तथा अनेरास्ववियु खोटाङकी संयोजक सुशिला तिमिल्सिनाले एमालेको पक्षमा लेख्न र बोल्न डराउनेहरू सच्चा नेता–कार्यकर्ता हुन नसक्ने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ ।
एमालेको गीतमा टिकटक भिडियो सेयर गर्दै उहाँले विचार लुकाएर राजनीति सम्भव नहुने बताउनुभएको हो । “राजनीतिमा निडर, स्पष्ट र मजबुत भएर समाज र सामाजिक सञ्जालमा उभिन सक्नुपर्छ,” भन्दै उहाँले पार्टी र विचारप्रति दृढता आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आलोचना र गाली भइरहे पनि सुशिला तिमिल्सिना कहिल्यै एमालेको पक्षमा बोल्न नछोड्ने नेतृका रूपमा परिचित हुनुहुन्छ । आलोचनाको प्रवाह नगरी पार्टी र नेतृत्वको पक्षमा प्रष्ट रूपमा आवाज उठाउँदै आएकी उहाँलाई एक स्पष्ट विचार भएकी नेतृको रूपमा हेरिन्छ ।
एमालेको महाधिवेशनका क्रममा समेत उहाँले निर्धक्क रूपमा केपी शर्मा ओलीको समर्थन गर्नुभएको थियो । उहाँको स्पष्ट र निर्भीक अभिव्यक्तिलाई कतिपयले आलोचना गरे भने धेरैले प्रशंसा समेत गरेका थिए ।
महिला तथा जेन्जीको लागि प्रेरणाको स्रोत बनेकी सुशिला तिमिल्सिना हाल देशभरका ७७ जिल्लामध्ये अनेरास्ववियुकी एक मात्र महिला संयोजक हुनुहुन्छ । उमेरका हिसाबले समेत सबैभन्दा कान्छी संयोजक रहेकी उहाँको सक्रियता र वैचारिक दृढताले पार्टीभित्र विशेष चर्चा पाएको छ ।
राजनीतिमा प्रष्ट दृष्टिकोण, साहस र वैचारिक दृढता प्रस्तुत गर्दै आएकी सुशिला तिमिल्सिना एमालेको भविष्य बोकेकी सम्भावनाशील नेतृ भएको धारणा पार्टीभित्र र बाहिर व्यापक रूपमा व्यक्त हुन थालेको छ ।



