सिरहा ४ मा रास्वपाका ई. तपेश्वर यादव विजयी

जनकपुरधाम । सिराहाको निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ई. तपेश्वर यादव २८ हजार ९३८ मतसहित फराकिलो मतान्तरले निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. ४ का अनुसार करिब आधा घण्टाअघि सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार यादव ३६ हजार २१० मतसहित विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका अजय शंकर नायकले ७ हजार ९७२ मत ल्याएका छन् । नरहा गाउँपालिका ५ नरहा घर भएका ३३ वर्षीय इञ्जिनियर यादव रास्वपाका मधेश प्रदेश सभापति समेत हुन् ।

२०७९ को निर्वाचनमा जसपा नेपालबाट २४ हजार १०२ मतसहित निर्वाचित भएर वन तथा भूसंरक्षण मन्त्रीसमेत भई निर्वाचनको मुखमा जनमत पार्टी प्रवेश गरेका वीरेन्द्र प्रसाद महतो ५ हजार ४१ मतसहित तेस्रो तथा नेकपा एमालेका धर्मनाथ प्रसाद साह ४ हजार ७२७ मतसहित चौथो स्थनामा खुम्चिएका छन् ।

बिज्ञापन

उक्त क्षेत्रमा एक्ली महिला उम्मेदवार कांग्रेसकी चन्द्रकलाकुमारी यादव ४ हजार ६१ मत ल्याएकी छन् भने २०७९ को निर्वाचनमा सिराहा २ नं.मा निर्वाचित भई उक्त क्षेत्र छोडेर यो पल्ट आफ्नै गृहक्षेत्र फर्किएका जसपा नेपालका राजकिशोर यादवले ३ हजार ४८४ मत ल्याएर छैटाैँ स्थानमा चित्त बुझाउनु परेको छ ।

जिल्लाको पश्चिमी भेगमा पर्ने कल्याणपुर नगरपालिकाको १ देखि १२, नरहा गाउँपालिकाको ३, ४, ५, मिर्चैया नगपालिका १ देखि १२, विष्णपुर गाउँपालिका २, ३ ४, कर्जन्हा नगरपालिका १ देखि ११ नं. वडा गरी ४१ वडा रहेको उक्त क्षेत्रमा ५६ हजार ७१७ पुरुष, ४९ हजार ९६९महिला गरी एक लाख ६ हजार ६८६ मतदातामध्ये यो पटक ७० हजार ७७ जनाले मतदान गरेका थिए ।

विभिन्न साना ठूला दलका १५ र २२ जना स्वतन्त्र गरी कुल ३७ जनाको मनोनयन परेको भएपनि आम आदमी पार्टीका बीरेन्द्र प्रसाद साहले उम्मेदवारी फिर्ता लिएपछि ३६ जना चुनावी प्रतिस्पर्धामा थिए ।