
काठमाडौं । अभिनेत्री एलिजा गौतम आम जनता पार्टी (आजपा) मा आबद्ध भएकी छन् । बुधबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न आजपाको केन्द्रीय कमिटी बैठकका क्रममा उनले औपचारिक रूपमा पार्टी प्रवेश गरेकी हुन् ।
आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पत्रकार ऋषि धमलाकी पत्नीसमेत रहेकी गौतमलाई टीका र माला लगाएर पार्टीमा स्वागत गरेपछि उनको राजनीतिक यात्रा सार्वजनिक भएको हो ।
बिज्ञापन




पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै गौतमले आफू लामो समयदेखि समाजसेवामा सक्रिय रहँदै आएको उल्लेख गर्दै अब राजनीतिक माध्यमबाट अझ प्रभावकारी रूपमा आवाज उठाउने उद्देश्यसहित आजपामा आबद्ध भएको बताइन् ।

आजपाले उठाउँदै आएका मुद्दा, नीति र विचार आम नेपाली जनताको हितमा केन्द्रित रहेको दाबी गर्दै उनले समाजसेवाका कामलाई थप सशक्त र संस्थागत ढंगले अघि बढाउने प्रतिबद्धता जनाइन् ।
