

जनकपुरधाम । लामो समयसम्म वर्षाविहीन मौसम र चर्को खडेरीले पिल्सिएका मधेश प्रदेशका किसानहरूलाई पछिल्ला दुई दिनको झरीले ठुलो राहत दिएको छ । आकासे पानी परेपछि सुक्खाले चिरिएको खेत फेरि हराभरा हुने आशाले किसानहरू खेतमा फर्किन थालेका छन् ।
धनुषाको शहिदनगर नगरपालिका–४ का किसान रविन्द्र साह बिहानै खेततर्फ लागे । ‘ब्याड जोगाउँदै बसेका थियौं, अब पानी परेपछि बिउ उखेल्न थालेका छौं,’ उनले भने । सुक्खा र तातोले चर्किएको माटोमा अब पानी जम्न थालेपछि बिउ रोप्ने अनुकूल अवस्था बनेको हो । अर्का किसान रामनरेश साह भन्छन्, ‘अहिलेसम्म खेतको धाँजा हेरेर छटपटीमा बाँचिरहेका थियौं । अब वर्षाले आशाको दियो बालिदिएको छ ।’



भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालका अनुसार मधेशका अधिकांश जिल्लामा दुई दिनदेखि वर्षा भइरहेको छ । रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा अपेक्षित वर्षा भएको छ भने पर्सा र बारामा केही कम वर्षा भएको मन्त्रालयले जनाएको छ । ‘अब धान रोपाइँको गति तीव्र हुन्छ र साउनभित्रै अधिकांश खेतमा धान रोपाइँ सम्पन्न हुनेछ,’ सचिव दाहालले भने ।
कृषि विकास निर्देशनालय मधेश प्रदेशका निर्देशक जितेन्द्र यादवका अनुसार अहिलेसम्म कुल खेतीयोग्य जमिनमध्ये ५७ प्रतिशतमा धान रोपाइँ सम्पन्न भइसकेको छ । सर्लाही जिल्लामा मात्र झण्डै ७० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेव प्रसाद कुशवाहाले जानकारी दिए ।
महोत्तरी जिल्लामा ४२ हजार ५०० हेक्टर खेतीयोग्य क्षेत्रमध्ये केही दिनअघि १५ हजार ८९० हेक्टरमा मात्र रोपाइँ भएको थियो । पानी परेपछि रोपाइँ तीव्र गतिमा भइरहेको कृषि अधिकारीहरू बताउँछन् ।
सप्तरी जिल्लामा ८१ हजार ६६८ हेक्टर जमिनमध्ये वर्षा हुनुअघि ४० प्रतिशत खेतमा मात्र रोपाइँ भएको थियो । तर, अब त्यो दर तीव्र रूपमा बढ्ने देखिएको छ । सिरहाका उत्तर भेगमा अब विद्युतीय मोटर नपुगेका खेतमा पनि रोपाइँ सुरु भएको छ ।
पर्सा र बारामा भने अझै वर्षा नपरेको कृषि मन्त्रालयले जनाएको छ । यी जिल्लाहरूमा अझै पनि सिँचाइका लागि वैकल्पिक उपायहरूको आवश्यकता देखिएको छ ।
४० डिग्री सेल्सियससम्म चढेको तापक्रम वर्षासँगै घटेको छ । चिसो हावा र आकाशमा छाएको बादलले किसान मात्रै नभई सर्वसाधारणका लागि पनि सहजता ल्याएको छ ।
आकासे पानीले किसानको अनुहारमा फेरि मुस्कान फिर्ता ल्याएको छ । खेतमा पानी देखेपछि किसान अब बिउ बोकेर गोडा टेक्दै खेततर्फ लागेका छन् । वर्षा नहुँदासम्म डिप ट्युबेल, कुलोपैनी, नहर र बोरिङको भरमा खेती गर्दै आएका किसान अब भने धान बाली बचाउनेमा आशावादी बनेका छन् ।
सरकारले समयमै मल, बीउ र सिँचाइ सुविधा सुनिश्चित गर्न सकेमा धान उत्पादनमा गत वर्षको क्षतिपूर्ति हुने सम्भावना पनि देखिएको छ । जलवायु संकटको मारमा परेको मधेश प्रदेशमा आकासे पानीसँगै फेरि हरियाली फर्कन थालेको छ ।