
काठमाडौं । समाजसेवी तथा चिकित्सक डा. मनोज रजकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
चितवनमा असार ७, ८ र ९ गते हुने पार्टीको महाधिवेशनलाई लक्षित गर्दै उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्।




डा. रजकले पार्टी संगठनलाई थप सशक्त, प्रभावकारी र जनमुखी बनाउन आफ्नो अनुभव र क्षमताको उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिन लागेको बताएका छन्। लामो समयदेखि स्वास्थ्य सेवा र सामाजिक क्षेत्रमा सक्रिय रहेका उनी जनतामाझ सेवाभावी व्यक्तित्वका रूपमा परिचित छन्।

चिकित्सा क्षेत्रको व्यावहारिक अनुभव, व्यवस्थापकीय क्षमता तथा निजी क्षेत्रसँगको सहकार्यबाट हासिल ज्ञानलाई राजनीतिक नेतृत्वमार्फत राष्ट्र निर्माणमा प्रयोग गर्ने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको उनले बताएका छन्।
सामाजिक सेवा, नेतृत्व विकास, शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा डा. रजकको उल्लेखनीय योगदान रहेको बताइन्छ। उनले विशेषगरी असहाय तथा विपन्न बालबालिकाको आवास, शिक्षा र संरक्षणका क्षेत्रमा काम गर्दै उनीहरूको हकहितका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्।
उम्मेदवारी घोषणा गर्दै उनले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना तथा स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। युवा, व्यवसायी र सामाजिक क्षेत्रका व्यक्तिहरूको सक्रिय राजनीतिक सहभागिताबाट मात्रै सकारात्मक परिवर्तन सम्भव हुने उनको भनाइ छ।
डा. रजकले पार्टीभित्र नेतृत्व चयन गर्दा अनुभव, क्षमता र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई मुख्य आधार बनाउनुपर्ने धारणा राखेका छन्। रास्वपाको संगठन विस्तार, जनविश्वास अभिवृद्धि तथा पार्टीलाई थप मजबुत बनाउन आफू निरन्तर सक्रिय रहने उनले बताए।
गत प्रतिनिधिसभा निर्वाचनका क्रममा पनि रास्वपाका उम्मेदवारहरूको पक्षमा उनले सक्रिय भूमिका निर्वाह गरेको उनका समर्थकहरूको भनाइ छ।
चिकित्सा, सामाजिक सेवा र नेतृत्व विकासका क्षेत्रमा हासिल अनुभवलाई राजनीतिक यात्रासँग जोड्दै रजकले पार्टीको केन्द्रीय तहमा जिम्मेवारी पाउने विश्वास व्यक्त गरेका छन्। उनका समर्थकहरूले समेत पार्टीलाई बलियो बनाउन सक्षम, अनुभवी र सक्रिय व्यक्तित्वका रूपमा उनलाई केन्द्रीय सदस्यमा चयन गर्नुपर्ने धारणा राखेका छन्।
रजक लामो समयदेखि रास्वपामा सक्रिय रहँदै आएका छन्।