
कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ।
शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह) मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ।




‘शरीरभर ठाउँ ठाउँमा पुराना र नयाँ थुप्रै घाउहरु छन्। गोरु चुटेजसरी कुटेर भतिजलाई मारियो। हिजो दिन र राति पनि कुटेछन्। मरेपछि बिहान अस्पताल लगे,’ मृतकका काका पदमबहादुर शाहीले भने, ‘हामीलाई अस्पतालमा मृत्यु भएपछि खबर पायौँ।’

उनका अनुसार सुधार गृहमा रहेका भतिज सुनिलसँग वैशाख १ गते परिवारको कुराकानी भएको थियो। त्यसयता सुनिलसँग परिवारलाई सम्पर्क गर्न दिइएको थिएन।
सुनिल गत पुस ४ गते सुधारगृह भर्ना भएका थिए।
पीडित परिवारले बिहीबार किटानी जाहेरी दिने तयारी गरेको छ।
अहिले शव पोष्टमार्टम गरेर घरमा ल्याइएको छ। घटनाको निष्पक्ष अनुसन्धान गरेर दोषिमाथि कारबाहीको माग पीडित परिवारले गरेको छ।
यता जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरीक्षक सरस्वती अधिकारीले शंकास्पद व्यक्तिमाथि सोधपुछ भइरहेका बताएकी छन्।
                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          