अप्पन जनकपुर
विपिन यादव
जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाले अगामी आर्थिक वर्ष २०८२–०८३ का लागि जम्मा ५० करोड ५१ लाख ५२५ रुपियाँको बजेट प्रस्तुत भएको छ ।
विदेह नगरपालिका नगर प्रमुख बेचन दासको अध्यक्षतामा भएको सो नगरपालिको १० औं नगरसभाको उद्घाटनसत्रमा नगर उपप्रमुख आशादेवी झाले अगामी आर्थिक वर्ष २०८२–०८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभयो ।
प्रस्तुत बजेटमध्ये चालुतर्फ ३४ करोड ८४ लाख ८४ हजार ५२५ रुपियाँ र पुँजीगत तर्फ १५ करोड ६६ लाख १६ हजार रुपियाँ रहेको छ । नगरपालिकाले अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटको स्रोत मध्ये आन्तरिक राजस्वबाट ४ करोड ५ लाख, राजस्व बाँडफाँटबाट १० करोड ९४ लाख १९ हजार ५२५ र अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ३५ करोड ५१ लाख ८१ हजार रहेको छ ।
उक्त १० औँ नगरसभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवम नेकपा (एमाले) का प्रदेशसभा सदस्य लखन दासले स्थानीय सरकारले किसानहरूको सहजताका लागि खरिद केन्द्रको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले किसानहरूले उत्पादन गरेका धान गहुँको साथै तरकारीको व्यवस्थित बजारीकरण नहुँदा किसानलाई समस्या भइरहेको भन्दै किसानले उत्पादन गरेका वस्तुलाई स्थानीयतहले खरिद गरी व्यवस्थितरूपमा बिक्री वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले दलित, अल्पसङ्ख्यक र पिछडा समुदायका बालबालिका अझै पनि विद्यालय बाहिर रहेको चर्चा गर्दै तिनीहरूलाई विद्यालयमा टिकाइ राख्न प्रोत्साहन भत्ताको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । नगर सभाको अध्यक्षता गर्नुभएका नगरपालिका नगर प्रमुखले अगामी आर्थिक वर्षमा कृषि, शिक्षा र स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगर सभामा उपप्रमुख आशा देवि झा, प्रमुख प्रशासकीय अधिकृत मनोहर यादव, वडाध्यक्षहरु राधेश्याम गोईत (देवेन्द्र), संजय पाण्डे, जयराम मण्डल, राजकिशोर सिंह, शम्भु साह, रामपुकार सहनीलगायतका व्यक्तिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन रामएकवाल मण्डलले गरेका थिए ।