जनकपुर यातायात कार्यालयबाट पाँचजना बिचौलिया पक्राउ

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले यातायात व्यवस्था कार्यालयमा बिचौलियाको रूपमा काम गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित यातायात व्यवस्था कार्यालय परिसरमा अनधिकृत रूपमा प्रवेश गरी सेवाग्राहीहरूलाई अनावश्यक रूपमा झन्झट दिने, विभिन्न कानुनी समस्या देखाउँदै रकम असुल गर्ने र दुःख दिने कार्य भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो ।

बिज्ञापन

सो क्रममा प्रहरीले घटनास्थलबाट पाँच जनालाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । पक्राउ पर्नेहरूमा जनकपुरधाम–९ बस्ने ३२ वर्षीय सरोज भनिने मनोज कुमार महतो, जनकपुरधाम–१४ मुजेलिया बस्ने ४४ वर्षीय विजय कुमार यादव, मिथिलाबिहारी नगरपालिका–३ घर भई हाल जनकपुरधाम–७ बस्ने ४५ वर्षीय अरुण प्रसाद साह, जनकपुरधाम–८ बजरँग चोक बस्ने ३४ वर्षीय कन्हैया झा र हंसपुर नगरपालिका–५ सुगानिकास बस्ने २९ वर्षीय सुरेश साह रहेका छन् ।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको धनुषा प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक सेवा कार्यालयहरूमा बिचौलियाको संलग्नता नियन्त्रण गर्न कडाइ गर्ने बताएको छ ।