जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवले नेपालबाट मधेश अलग हुने बताएका छन् ।
सर्लाहीका प्रहरी उपरिक्षकसँगको विवादास्पद कुराकानी सार्वजनिक भएलगतै पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेता यादवले एक भिडियो सन्देश सार्वजनिक गर्दै नेपालबाट मधेश एक दिन अलग हुने प्रतिक्रिया दिएका हुन् ।
उनले भनेका छन्, ‘जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पनि कुनै समय मेधश स्वराज्यको माग गरेको र अब फेरि मधेश नेपालबाट अलग हुने र विद्रोहको समय चाँडै आउने छ । म रहुँ वा नरहुँ ।’
उनले आफूले भारत र नेपालबीच निष्ठाको लडाइँ लडिरहेको बताउँदै भने, ‘म अशोक यादव, श्रीराम र माँ जानकी धरोहर हुन्, त्यसलाई बचाउनका लागि लडिरहेको छु । बिहारका छोरीहरु जसको नेपालमा बिहे हुन्छ, उनको र उनीहरुका बच्चाको नागरिकता बन्दैन, म त्यसको लडाइँ लडिरहेको छु । म सितामढीको एसपीसँग बिहारको पुलिस अधिकारी सबैसँग अनुरोध गर्दछु कि नेपालका एसपीले भनेको आधारमा कुनै पनि कदम नउठाउनु ।’
उनले नेपालका शासकमा नश्लीय चिन्तन रहेको आरोप लगाउँदै मधेशीलाई दोस्रो नागरिकको दर्जा दिइएको र त्यसबाट छुट्कारा पाउनका लागि मधेश अलग हुन आवश्यक रहेको बताएका छन् ।