

बिराटनगर । नेपाल-भारत सीमा क्षेत्रमा हुने चोरी तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न दैनिक निगरानी बढाइएको छ। सुनसरीमा पर्ने सीमा क्षेत्रमा हुने चोरी पैठारी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने दैनिक निगरानी बढाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताएका छन्।
सुनसरीमा नेपाल-भारत सीमा क्षेत्र ६१.९ किलोमिटर रहेको छ। यहाँ तीनवटा छोटी भन्सार, एक मुख्य भन्सार भएपनि चोरी पैठारी रोकिएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर दैनिक निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए।




सुनसरीको सीमा क्षेत्रमा १३ वटा प्रहरी युनिट र सशस्त्र प्रहरीको ११ वटा युनिट रहेका छन्।

खुल्ला सीमा नाका भएका कारण चोरी पैठारी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न चौबिसै घन्टा प्रहरीलाई चनाखो भएर लाग्न पनि निर्देशन दिएको उनले बताए। सीमा क्षेत्रको अनुगमनमा प्रजिअ मिश्र, सुनसरीका प्रहरी प्रमुख एसपी सुनन कुमार तिम्सिना, सशस्त्र प्रहरी प्रमुख एसपी निर्मल कुमार थापा र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख विमल घिमिरे सहितको टोली चोरी पैठारी र अपराध नियन्त्रणमा सक्रिय भएको छ।
सीमा क्षेत्रमा तस्करहरूसँग मिलेमतो गरी भन्सार छलि गरी विभिन्न सामानहरू नेपाल प्रवेश गरिए त्यस्ता प्रहरीलाई पनि तत्काल कारबाही गरिने प्रजिअ मिश्रले बताए। उनले भन्सार चोरी निकासी पैठारी र आपराधिक क्रियाकलाप शून्य सहनसिलताको नीति अवलम्बन गरिएको बताए।