

सन्तोष यादव
पछिल्लो समय जनमत पार्टीका अध्यक्ष डा. सिके राउत नेपाली राजनीतिमा हाँसो, विष्मय र आक्रोशको पात्र बन्दै गएका छन् । एक समय मधेसको भूमिबाट वैज्ञानिक पृष्ठभूमि बोकेर उदाएका राउतलाई देशले नयाँ सोच, दृष्टिकोण र राजनीतिक संस्कृतिको आशा बोकेर स्वागत गरेको थियो । तर, आज उनी तिनै जनताको निराशा, उपहास र असन्तोषको कारक बनेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा उनी आफ्नो पार्टी ‘जेनजीको पार्टी’ भएको भन्दै व्यापक प्रचार गरिरहेका छन् ।
जेनजी नामको नयाँ पुस्तालाई आफ्ना राजनीतिक स्टण्टका रूपमा प्रयोग गरेर हल्ला मच्चाउने उनको प्रयासले उनको मनोवैज्ञानिक असन्तुलन झल्काएको छ । उनले हतार हतारमा ‘जेनजी जनमत संघ’ नामको संगठन पनि बनाइसकेका छन् र केही युवालाई जेनजी लेखिएको ज्याकेट लगाएर सामाजिक सञ्जालमा प्रदर्शन गराइरहेका छन् । यसबाट देखिन्छ, डाक्टर राउत असल राजनीतिभन्दा प्रचार र सस्तो लोकप्रियताको नशामा बौलाउँदै गएका छन् ।




उनको बहुलठ्ठीपना त्यतिमा मात्र सीमित छैन । जेनजी आन्दोलनमा आफू जेनजीको प्रधानमन्त्री लायक रहेको प्रचारसमेत गरे । त्यो फेसबुके प्रधानमन्त्री मन्त्री प्रचारमा अन्य पनि थिए । तर, त्यो प्रचारबाजीको सपना पूरा नभएपछि र कसैले नपत्याएपछि जेनजी आन्दोलनलाई कसरी आफ्नो प्रभावमा पार्न सकिन्छ भनेर पछिल्लो समय मधेसी जनता र युवामा प्रदेश प्रहरीमा आफूले ३० हजार युवालाई रोजगारी दिने भनी फेरि अर्को ललिपप चखाउन खोज्दैछन् ।

डाक्टर साब फेरि पनि भन्दैछु, अब धेरै नबोल्नुहोस्, झुठो खेती नगर्नुहोस्, तपाईँको पार्टीभित्र अझै धेरै यस्ता व्यक्ति छन्, पहिचान गर्ने र ठाउँ दिने तागत बनाउनुहोस्, नभए इतिहासमा सीमित बन्नुहुनेछ । पहिले आफ्नो प्रतिबिम्ब हेरौँ । चेतना भया ।
एकातिर मुख्यमन्त्री सतीस सिंहको राजीनामा मागेका छन्, अर्कातिर मधेस सरकार आफ्नै पार्टीको नेतृत्वमा छ भनेर दोहोरो चरित्रको भ्रम सिर्जना गरिरहेका छन् । यसरी उनले आफ्नो चरम महत्वाकांक्षा केही सामाजिक सञ्जाल, अर्थात् आफ्ना साइबर स्यालमार्फत् विभिन्न रूपमा प्रचारमा मग्न छन् । यतिसम्म कि, कहिले सिके राउतलाई उपप्रधानमन्त्रीको अफर आएको, तर उनले त्याग देखाएको भन्दै समेत व्यक्ति केन्द्रित प्रचार गर्दा र पार्टी तथा पार्टीका अन्य नेतालाई दबाउन खोज्दा पार्टीकै प्रवक्ता शरद्सिंह यादव, उपाध्यक्ष अब्दुल खानसहितले जेनजी लहरकै बीचमा राजीनामा दिइसकेका छन् ।
जनताले सिके राउतमा ठूलो विश्वास गरेका थिए । मधेसमा जन्मिएर विदेशमा पढेका वैज्ञानिक नेपाली राजनीतिमा आएपछि जनताले उनलाई वैकल्पिक पात्रका रूपमा हेरे । उनले शुरुमा बोलेका कुरा सुन्दा लाग्थ्यो, देशको राजनीतिमा अब विज्ञान र विवेकले ठाउँ पाउनेछ । तर, त्यो सपना धेरै लामो टिकेन । उनी जसरी चर्चामा आए, त्यसैगरी नै छोटो समयमा विवादमा डुब्दै गए । शुरुमा उनले ‘स्वराज’ आन्दोलन चलाए । मधेस अलग देश बनाउने घोषणा गरे ।
उनले खुलेर नेपाल र नेपाली जनतालाई अपमानजनक शब्द प्रयोग गर्दै भाषण गरे । ‘मधेस नेपाल होइन, अलग देश हो’ भन्ने उनको नारा सुनेर धेरैले उनलाई उग्र राष्ट्रघाती ठाने । तर, उनले त्यही राष्ट्रको संविधान, संसद र सत्ताको मखमली कुर्सीमा आज आफैँलाई स्थिर पारेका छन् । यही विडम्बना हो–आफ्नै विचारसँग विश्वासघात गर्ने मानिसले कसरी देशलाई न्याय दिन सक्छ??
राउतको राजनीतिक यात्रालाई ‘नाटकीय’ को संज्ञा दिनु उचित हुन्छ । उनले कहिले उपेन्द्र यादवलगायत मधेसी नेतामाथि सर्पको उपमा दिँदै उग्र भाषण गरे, कहिले प्रहरीद्वारा पक्राउको भिडियो भाइरल बनाएर आफूलाई पीडितको रूपमा चित्रित गरे । उनका प्रत्येक स्टण्टमा लोकप्रियता खोज्ने प्रवृत्ति झल्किन्थ्यो । तर, आज उनी त्यही प्रणालीमा गाभिएका छन्, जसको विरुद्ध उनी जीवनभर लड्ने दाबी गर्थे ।
उनका स्वराज, स्वतन्त्र मधेसजस्ता नारा अब इतिहासका पानामा झूटको दस्ताबेज बनेका छन् । यतिसम्म कि, उनले लेखेको पुस्तक समेत पत्याउन संसारलाई अब कठिन छ । किनभने उनी अहिले त्यही दल र नेताहरूसँग हिँडिरहेका छन् जसलाई उनले कहिल्यै गणना गरेका थिएनन् । जसले उनलाई देशद्रोही ठान्थे । प्रश्न उठ्छ, उनी बदलिएका हुन् कि उनको वास्तविक रूप अब देखिएको हो??
२०७९ को चुनावमा जनताले उनलाई ठूलो भरोसाका साथ जिताए । जनमतलाई राष्ट्रिय पार्टीकै रूपमा दर्जा दिए, तर अब के हुन्छ अर्को चुनावमा हेर्न बाँकी छ । उनले चुनावमा जनतासँग वाचा गरेका थिए, १० हजार युवालाई रोजगारी दिनेछु भनेर । त्यो वाचा जनमत पार्टीको घोषणापत्रमा नै उल्लेखित पनि छ । चुनावी सभामा उनले गर्वका साथ भन्थे, ‘अब युवाले विदेश जानुपर्दैन्, देशमै रोजगारी सिर्जना गर्छु ।’ तर, चुनाव जितेपछि त्यो सबै कुरा हावामा विलीन भयो । उनले युवालाई रोजगारी दिनु त टाढाको कुरा, आफ्नै परिवार र नातागोतालाई सरकारी जागिर बाँडे ।
दाजु डा. जयकान्त राउतलाई पार्टी नै जिम्मा लगाउने योजनामा अघि बढिसकेका छन् । पार्टीभित्रकै नेताहरूले उनको परिवारवाद र स्वार्थी व्यवहारको विरोध गरे । तर, उनले सुनिदिएनन् । कुरा उठाउनेलाई दुस्मन ठानेर दुस्मनी व्यवहार गरे । जब जनताले उनलाई सोध्छन्, ‘डाक्टर सा’ब १० हजार रोजगारी खोइ??’ उनले व्यङ्ग्य गर्दै आजकल भन्छन्, ‘एउटा सीट जिताएर १० हजार रोजगारी माग्ने??’ यो उत्तरले उनको घमण्ड र जनविरोधी सोच प्रकट गरिरहेको छ । अनि जनताले बुझ्न थालेकाछन्, सिके राउत पनि अरुजस्तै ‘एकथान’ नेता मात्रै रहेछन् ।
उनले सफ्टवेयर इञ्जिनियरको पृष्ठभूमिबाट नासाबाट वैज्ञानिक बनेर आएको गर्व गरेर राजनीति पनि प्रयोगशालाजस्तो ठाने । उनले ‘राइट टु रिकल’ भन्ने नौटंकी पनि शुरु गरे, जनताबाट आफ्नो पार्टीको सांसदको मूल्याङ्कन गराउने भनेर हल्ला मच्चाए । भोटिङ पनि गराए । तर, त्यो पनि प्रदर्शनमा मात्रै सीमित भयो । भोटिङबाट जनताले निगलेट गरेका सांसदलाई जिम्मेवारीबाट फिर्ता बोलाएनन्, न त कुनै भ्रष्ट सांसदलाई कारबाही गरे ।
उल्टै मन्त्री बनाउन र समानुपातिक सांसदको सूचीमा नाम हाल्न उनले पैसा लिने निर्णय पार्टीभित्रै गरे । पार्टीभित्र पैसा, पद र पहुँचको आधारमा निर्णय हुन थालेपछि जनमत पार्टी आफ्नो नैतिक जगबाट च्युत भयो । राजधानीमा उनले महल जोडे, महँगो गाडी चढ्न थाले र सत्ता–सरकारसँग साँठगाँठ गर्दै ‘वैज्ञानिक’ भन्दा बढी ‘व्यापारी’ नेता बने ।
राउतको व्यक्तिगत जीवन पनि यति अस्थिर भयो कि, राजनीतिक निर्णयमा त्यसको प्रत्यक्ष प्रभाव देखिन थाल्यो । आफ्नो राजनीतिक अपराध र असफलता ढाकछोप गर्न उनी तपोवन पुगेर गेरुवा वस्त्र धारण गरे । गेरुवा कपडाभित्र उनले सत्य होइन, स्वार्थ लुकाए । धर्म र अध्यात्मको आवरणमा उनी झूट र लोभको खेती गर्न थाले । पार्टीभित्र असहमतिहरू बढ्न थाले । पुराना नेता उपाध्यक्ष दीपक साह, कोषाध्यक्ष सुरेन्द्र यादव, सचिव बिपी साहसहितलाई उनले एकपछि अर्को गर्दै कारबाही र निष्कासन गरे ।
पार्टीभित्र विरोध गर्नेमाथि भ्रष्टाचार गरेको आरोपमा सुरेन्द्र यादवहरूलाई पटक पटक जेल पुर्याए । तर, ती नेताको दुखेसो छ, राउतकै निर्देशनमा रकम जम्मा गरेर पछि नगद लिएको, तर कागजी रूपमा आफूहरूलाई फसाए । जसले उनलाई घरमा शरण दिएर नेता बनाएका थिए, त्यही दीपक साहलाई उनले आज दुस्मन बनाएर पार्टीबाट निकाले । जनमत पार्टी आज व्यक्तिगत सम्पत्ति र परिवारवादी सञ्जालमा परिणत भएको छ । त्यहाँ नीति छैन, विवेक छैन, लोकतान्त्रिक मूल्य त झन् नाम मात्रको छ ।
राउतले आफ्नो असफलतालाई ढाक्न गणतन्त्रवादीकै नारा नौलो गणतन्त्र र सामाजिक लोकतन्त्र जस्ता आकर्षक शब्दको खेल खेल्न थालेका छन् । तर, यी शब्द उनको मौलिक दर्शन होइनन्, अरूको विषयलाई उधारोमा ल्याएर आफूलाई नयाँ देखाउने प्रयास मात्रै हो । आज जनमत पार्टीमा न त कुनै ठोस विचार छ, न जनताको मुद्दा बोकेको नेतृत्व । बाँकी छ भने केवल प्रचार, आत्मप्रशंसा र व्यक्तिगत महत्वाकांक्षा । यसरी राउतका पछिल्ला गतिविधिले उनको मानसिक र वैचारिक स्थिरतामाथि प्रश्न उठेको छ ।
डाक्टर सा’ब, जनताले तपाईँलाई सम्मानका साथ राजनीतिमा पठाएका थिए । तर तपाईँले त्यो सम्मानलाई निल्नुभयो । अब पनि सम्हालिनुहोस्, कहिलेसम्म प्रचार र अभिनयले जनताको आँखा ढाक्न सकिन्छ ? देशले तपाईँलाई विज्ञान र बुद्धिको प्रतीक ठानेको थियो । तर, तपाईँ अब भ्रम र बौलाहटको प्रतीक बन्दै गइरहनुभएको छ ।
कहिले उनी सन्तको भेषमा तपोवनमा पुग्छन्, कहिले आफूलाई क्रान्तिकारी वैज्ञानिक भन्छन्, कहिले युवाहरूलाई जेन–जीको आवरणमा भुलाउने प्रयास गर्छन् । उनले वैज्ञानिक तर्क र बौद्धिकता होइन, झूट र प्रपञ्चको प्रयोग गरेर लोकप्रियता खोजिरहेका छन् । तर, लोकप्रियता कहिल्यै टिक्दैन । जब त्यसको आधार सत्य हुँदैन । राजनीति खेल होइन, जिम्मेवारी हो । जनताले दिएको मत केवल कुर्सीका लागि होइन, परिवर्तनका लागि हुन्छ । तर, सिके राउतले त्यो मतलाई राजनीतिक व्यापारको वस्तु बनाएका छन् । उनले जनताको भरोसा बेचेर सत्ता पाएका छन्, युवाको आशा बेचेर सुविधा कमाएका छन् । त्यस्ता नेताले कहिल्यै इतिहासमा सम्मान पाउँदैनन् । उनीहरू क्षणिक तारा हुन्, छिट्टै झिल्को झल्किन्छ र हराउँछ ।
जेनजी आन्दोलनमा आफू जेनजीको प्रधानमन्त्री लायक रहेको प्रचारसमेत गरे । त्यो फेसबुके प्रधानमन्त्री मन्त्री प्रचारमा अन्य पनि थिए । तर, त्यो प्रचारबाजीको सपना पूरा नभएपछि र कसैले नपत्याएपछि जेनजी आन्दोलनलाई कसरी आफ्नो प्रभावमा पार्न सकिन्छ भनेर पछिल्लो समय मधेसी जनता र युवामा प्रदेश प्रहरीमा आफूले ३० हजार युवालाई रोजगारी दिने भनी फेरि अर्को ललिपप चखाउन खोज्दैछन् ।
नेपालमा वैकल्पिक राजनीति खोज्ने जनताका लागि सिके राउत एकपटक सम्भावना थिए । तर, आज उनी निराशाको प्रतीक बनेका छन् । उनले जनमत पार्टीलाई वैचारिक प्लेटफर्म होइन, व्यक्तिगत स्वार्थको पसल बनाइदिएका छन् । उनले जनताको आवाज होइन, आफ्नो प्रचारको स्वरलाई प्राथमिकता दिएका छन् । जनतालाई सपना देखाउने, तर पूरा नगर्ने नेताको सूचीमा अहिले उनी पनि थपिएका छन् । समय अझै बाँकी छ, यदि सिके राउतले आफूमा बचेको विवेक प्रयोग गर्न सके भने उनी फेरि पनि विश्वासको सानो जग बनाउन सक्छन् ।
तर अहंकार, प्रचार र अवसरवादमा डुबिरहँदा त्यो सम्भावना लगभग शून्य छ । उनी अझै पनि चेतिन सक्छन्, तर चेतना शब्दले अब उनलाई व्यङ्ग्यझैँ लाग्न थालेको छ । त्यसैले सिके राउतको कथा एउटा वैज्ञानिकको राजनीतिक पतनको कथा हो । यो कथा एउटा सम्भावनाको नाशको कथा हो । जब विवेकभन्दा बढी स्वार्थले राजनीति चलाउँछ, जब जनताको आशा भन्दा प्रचारको लोभ ठूलो हुन्छ, तब त्यस्ता पात्रहरू इतिहासका उपहास बन्छन् । सिके राउत पनि त्यसैको ताजा उदाहरण बन्न पुगेका छन् ।
त्यसैले डाक्टर सा’ब, जनताले तपाईँलाई सम्मानका साथ राजनीतिमा पठाएका थिए । तर तपाईँले त्यो सम्मानलाई निल्नुभयो । अब पनि सम्हालिनुहोस्, कहिलेसम्म प्रचार र अभिनयले जनताको आँखा ढाक्न सकिन्छ?? देशले तपाईँलाई विज्ञान र बुद्धिको प्रतीक ठानेको थियो । तर, तपाईँ अब भ्रम र बौलाहटको प्रतीक बन्दै गइरहनुभएको छ । राजनीतिमा विवेक र नैतिकता बाँकी छ भने त्यसलाई जगाउनुहोस् । नत्र, इतिहासले तपाईँलाई ‘स्वराजको सपना बेच्ने ठग’ का रूपमा मात्र सम्झिनेछन् ।
त्यसैले, डाक्टर साब फेरि पनि भन्दैछु, अब धेरै नबोल्नुहोस्, झुठो खेती नगर्नुहोस्, तपाईँको पार्टीभित्र अझै धेरै यस्ता व्यक्ति छन्, पहिचान गर्ने र ठाउँ दिने तागत बनाउनुहोस्, नभए इतिहासमा सीमित बन्नुहुनेछ । पहिले आफ्नो प्रतिबिम्ब हेरौँ । चेतना भया ।
(लेखक यादव मधेशमा रहेर पत्रकारिता गर्छन्)