

जनकपुरधाम । धनुषा जिल्ला प्रहरी कार्यालयले असोज महिनाको (Police Of The Month) प्रहरी ईन्सपेक्टर ओमप्रकाश यादवलाई चयन गरेको छ । ईलाका प्रहरी कार्यालय यदुकुहा धनुषाका प्रमुखको रूपमा कार्यरत ईन्सपेक्टर यादवलाई पछिल्ला महिनाहरूमा देखाएको उत्कृष्ट कार्यसम्पादन, आपराधिक नियन्त्रणमा देखाएको नेतृत्व क्षमता र समुदायप्रतिको उत्तरदायित्वको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको हो ।
प्रहरी स्रोतका अनुसार ईन्सपेक्टर यादवले पछिल्लो समयमा विभिन्न आपराधिक गतिविधिहरूमा उल्लेखनीय सफलता हासिल गरेका छन् । उनले करिब ८ लाख रुपैयाँभन्दा बढीको आर्थिक ठगीमा संलग्न फरार अभियुक्तहरूलाई पक्राउ गरेका छन् । साथै, भारतीय ४,१४,००० र नेपाली रु. ५,४०,००० नगदसहित तीन जना भारतीय नागरिकहरूलाई हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको छ ।




यादवले मानव बेचबिखन, चोरी, र अनलाइन ठगी जस्ता घटनाहरूमा पनि सक्रियता देखाएका छन् । उनले धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ मा ५०–५२ वर्ष उमेरका एक फरार अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएका थिए ।

सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि ईन्सपेक्टर यादव सक्रिय छन् । उनले Gen-Z नामक सामाजिक समूहमार्फत युवाहरूलाई नशाको दुर्व्यसनबाट जोगाउने, साइबर अपराधबारे जनचेतना फैलाउने, तथा समुदायसँग सकारात्मक सहकार्य बढाउने कार्यमा नेतृत्व दिएका छन् ।
त्यस्तै, दुर्गा मूर्ति तोडफोडका कारण उत्पन्न धार्मिक तनाव व्यवस्थापनमा उनले हिन्दु र मुस्लिम समुदायबीचको झगडा नियन्त्रणमा लिँदै ठूलो घटना हुनबाट जोगाएको धनुषा प्रहरीले जनाएको छ । साथै, उनले मानसिक रोगी २३ जनालाई उपचारका लागि सहयोग पुर्याउँदै समाजप्रतिको संवेदनशीलता र मानवीय पक्ष प्रकट गरेका छन् ।
उच्च मनोबल, कर्तव्यनिष्ठा र समुदायमूलक प्रहरी सेवा प्रवर्द्धनमा देखाएको योगदानका आधारमा ईन्सपेक्टर यादवलाई असोज २०८२ महिनाको उत्कृष्ट प्रहरी (Police Of The Month) घोषित गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी नरहरी रेग्मीले जानकारी दिएका छन् ।