
काठमाडौं । नेपाल प्रहरी संगठनभित्र फेरि एकपटक काज सरुवा–रमाना विवाद सतहमा आएको छ।
मधेस प्रदेशका तत्कालीन प्रमुख तथा हालका एआईजी उमाप्रसाद चतुर्वेदीले गरेका केही काज सरुवाहरूलाई हालका मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द प्रसाद थपलियाले रद्द गराउने प्रक्रिया अघि बढाएका छन्।




एआईजी चतुर्वेदीले एआईजीमा बढुवा सिफारिस भएपछि केही प्रहरी कर्मचारीलाई घरपायक काज सरुवा गरेका थिए। तर, ती सरुवाको रमाना डीआईजी थपलियाले रोकिदिँदा काज सरुवा पाएका प्रहरीहरू अहिले अनिश्चिततामा र पीडित बनेका छन्।

नियमअनुसार, प्रदेश प्रहरी प्रमुखलाई प्रदेशभित्रका वरिष्ठ सईसम्म सरुवा गर्ने अधिकार हुन्छ। तर अघिल्ला प्रमुखले गरेको सरुवा पछिल्लो प्रमुखले रोक्ने प्रवृत्ति नेपाल प्रहरीको परम्परामा नदेखिएको मधेस प्रदेशका एक वरिष्ठ प्रहरी अधिकृतले बताए।
अर्कोतर्फ, आफुभन्दा सिनियर एआईजीले गरेको निर्णय रोक्ने कदम उठाएपछि डीआईजी थपलिया विवादमा परेका छन्।
साथै, मधेस प्रदेशमा बर्षौँदेखि प्रभाव जमाइरहेका तथाकथित घुमुवा समूहहरूलाई हटाउन नसकेको आरोप पनि उनलाई लागेको छ।
