
जनकपुरधाम । विवाह पञ्चमी महामहोत्सवलाई सुरक्षित, सभ्य र व्यवस्थित बनाउन धनुषा प्रशासन र धनुषा ट्राफिक प्रहरीले ७५ जना चालक, सहचालक तथा यातायात व्यवसायीलाई लक्षित गर्दै संयुक्त रूपमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको संयुक्त आयोजनामा भएको कार्यक्रममा बस, भ्यान, इ–रिक्सा, टेम्पोलगायत सार्वजनिक सवारी सञ्चालन गर्ने चालक र व्यवसायीलाई दर्शनार्थीहरूप्रति देखाउनुपर्ने शिष्टाचार, सावधानी, तोकिएको भाडादर तथा व्यवहारका विषयमा विस्तृत जानकारी दिइएको थियो ।




कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले विवाह पञ्चमीमा जनकपुरधाममा ठूलो संख्यामा आगमन हुने तीर्थयात्री तथा पर्यटकको सुरक्षालाई सबैभन्दा महत्वपूर्ण भएको बताए । उनले यातायात क्षेत्रका सबैलाई आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्न आग्रह गर्दै व्यवस्थित सेवा नै महोत्सवको प्रतिष्ठासँग जोडिने उल्लेख गरे ।

जिल्ला सुरक्षा समितिका सदस्यहरूको उपस्थिति रहेको कार्यक्रममा विभिन्न वक्ताहरूले भीड व्यवस्थापन, यात्रु सुविधा र भाडादर दुरुपयोग नगर्न चालक–सहचालकलाई आग्रह गरे ।
कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर शाहीले गरेका थिए ।
