
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा सशस्त्र प्रहरीलेविद्यार्थीमाझ लागुऔषध दुर्व्यसन र मादक पदार्थ सेवनविरुद्ध सचेतनामूलक अभियान सुरू गरेको छ ।
यसैक्रममा वडा नम्बर ४ शान्तिनगरस्थित उग्रतारा बाल विद्यालयमा आज लागुऔषध दुर्व्यसन र मादक पदार्थ सेवनविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरियो ।




सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) योग्य बस्नेतले कार्यक्रममा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । प्रशिक्षणका क्रममा कक्षा ८, ९ र १० का ११२ जना विद्यार्थीलाई लागुऔषध र मादक पदार्थ सेवनबाट हुने गम्भीर शारीरिक, मानसिक तथा सामाजिक असरहरूका बारेमा उनले विस्तृत जानकारी दिए ।

पछिल्लो समय युवा पुस्तामा बढ्दै गएको दुर्व्यसनको जोखिमलाई न्यूनीकरण गर्न र विद्यार्थीहरूलाई यस्ता कुसंस्कारबाट जोगाउन यो कार्यक्रम गरिएको बस्नेतले बताए ।
उनले भने, ‘सीमा क्षेत्रमा हुने अवैध गतिविधि र लागुऔषध नियन्त्रणमा विद्यार्थी र युवाहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले यस्ता अभियान सञ्चालन गरेका हौँ ।’
यस क्षेत्रका सबै विद्यालयमा क्रमशः सचेतनामूलक कक्षाहरू सञ्चालन गर्ने एपीएफको योजना छ । शिक्षक, विद्यार्थी र अभिभावकले समेत यस्ता कार्यक्रमले लागुऔषधविरुद्धको अभियानमा नयाँ ऊर्जा थप्ने विश्वास जनाएका छन् ।