मधेशका मुख्यमन्त्री सरोज यादवले घोषणा गरे राजिनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजिनमा घोषणा गरेका छन् । विश्वासको मत लिन आज दिउँसो २ बजे डाकिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले राजिनामा घोषणा गरेका हुन् ।

‘आजकै मितिबाट राजिनामा दिन्छु । र प्रदेश प्रमुखको कार्यालयमा गएर राजिनमा बुझाउँछु’ उनले भने ।

बिज्ञापन

मुख्यमन्त्री यादव विश्वासको मतको लागि आफ्ना मन्तव्यसहितको प्रस्ताव राख्ने क्रममा विपक्षी दलका सांसदहरु प्रदेशसभा बैठक छाडेर निस्केका थिए । सातदलीय गठबन्धनलाई लक्षित हुने गरी आफ्ना धारणा राख्न थालेपछि काँग्रेससहितका विपक्षी दलहरु बैठकबाट निस्केका थिए । सदनमा सत्ता पक्ष एमाले, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका सांसद मात्र सदनमा उपस्थित थिए ।

नेकपा एमालेका संसदीय दलका नेता यादव संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसितमा गत कार्तिक २३ गते राति मुख्यमन्त्री नियुक्त भएका थिए । कार्तिक २४ गते बिहान बर्दिबासको कालापानी स्थित पानस होटेलमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।

त्यस घटनाले मधेश अशान्त बनेको थियो । नेपाली काँग्रेससहितको सातदलीय गठबन्धनका ७३ जना प्रदेश सांसदले सर्वोच्च अदालतमा कार्तिक २५ गते रिट सरकार गठनविरुद्ध रिट दायर गरेका थिए । झण्डै २ हप्तासम्म मधेश भवना अगाडि धर्नासहित प्रदर्शन गरेका थिए । एमालेबाटे बनेका सभामुख रामचन्द्र मण्डललाई समेत मंसिर ३ गते दुई तिहाइ बहुमतले पदमुक्त गरेका थिए ।

सरकार गठनविरुद्ध तीनवटा रिटउपर सुनुवाई गर्दै सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिन परमादेश गरेको थियो । यस्तै लिन नसकेको खण्डमा पुनः संविधानको धारा १६८ को २ बमोजिम सरकार गठन गर्न भनेको थियो ।