
जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वार्ड नं. १ महिनाथपुरस्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा महिनाथपुरमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सीताराम पौडेलको बिदाई गरिएको छ । बिहिवार एक समारोह आयोजना गरेर उहाँलाई दोसल्ला, माला र टिकालगाइ बिदाई गरिएको हो । सशस्त्र प्रहरी डिएसपी पौडेलले ६ महिनाको सेवामा अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम राख्न र खुला सिमानाकाबाट हुने चोरी तस्करी नियन्त्रण कार्यमा सराहनीय काम गरेको भन्दै उहाँको विशेष सम्मान र मायाको चिनोसहित बिदाई गरिएको हो । सो अवधिमा पौडेलले खुला सिमानाकामा अपराधी गतिविधि र चोरी तस्करी नियन्त्रणमा स्थानीयहरुको सहयोग र समन्वयको कारण सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘सशस्त्र प्रहरी संगठनमा सरुवा त एउटा प्रक्रिया हो आउने जाने काम भईरहन्छ तर तपाईंहरुले दिनुभएको सहयोगले नै यहाँको शान्ति सुरक्षामा महत्वपूर्ण काम गर्न सफल भएका हौं ।’त्यस्तै सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा महिनाथपुरका नयाँ प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरेश कोइरालालाई स्वागत गरिएको छ । बिदाई तथा स्वागत कार्यक्रममा विदेह नगरपालिका मेयर बेचन दास, वडाध्यक्ष संजय पाण्डे, वडाध्यक्ष राधेश्याम गोईत, सन्तोष यादव, ई धर्मेन्द्र गोईत, सन्तोष रोहिता, ईलाका प्रहरी कार्यालय खजुरीका इन्स्पेक्टर बबिन्द्र नेवाङ्ग, सशस्त्र प्रहरी बिओपिका इन्स्पेक्टरहरु, ईलाका प्रहरी कार्यालय दुहबीका सई इन्द्रकुमार यादव, सशस्त्र प्रहरी जवानहरु, समाजसेविलगायतको सहभागिता रहेको थियो ।




