जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न

विपिन यादव
जनकपुरधाम । मधेस प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले जनकपुरधाममा आयोजित पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड (NTB) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (STP) अन्तर्गत राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (NFPJ) तथा नेपाल पत्रकार महासंघ धनुषा शाखाको सहकार्यमा दुईदिने तालिम सञ्चालन गरिएको हो ।

सोमबार सम्पन्न तालिमको उद्देश्य क्यामेराको लेन्समार्फत मधेस प्रदेशका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु रहेको थियो । मधेस प्रदेशमा जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर र उत्तरतर्फ रहेको राजदेवी मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, सिरहाको सलहेश फुलवारी तथा बाराको गढीमाई मन्दिरजस्ता महत्वपूर्ण पर्यटकीय स्थलहरू रहेका छन् ।

बिज्ञापन

कार्यक्रममा वक्ताहरूले मधेस प्रदेश संस्कृति, इतिहास, प्रकृति र समुदायसँग जोडिएका अनेकौँ पर्यटन कथाहरूले भरिपूर्ण रहेको उल्लेख गर्दै ती कथालाई प्रभावकारी तस्बिरमार्फत प्रस्तुत गर्न फोटो पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । दिगो पर्यटन विकासमा मिडियाको भूमिका झनै निर्णायक बन्दै गएको भन्दै स्थानीय गन्तव्यलाई विश्व बजारसम्म पुर्‍याउन यस्तो तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरियो ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनको मेरुदण्डका रूपमा उल्लेख गर्दै सिकाइ निरन्तर प्रक्रिया भएको बताए । उनले जनकपुरधाम, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, बारा र पर्साका कथा क्यामेरामा उतारिएका तस्बिरहरूले नेपाललाई विश्व पर्यटन नक्सामा अझ सशक्त रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । साथै, तालिमले मधेस प्रदेशका ओझेलमा परेका गन्तव्य, संस्कृति र समुदायका कथाहरू उजागर गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

तालिमका प्रशिक्षक सुनिल चुडामणि बज्राचार्यले फोटो पत्रकारिताको इतिहास, प्राविधिक पक्ष, फोटो फिचर तथा तस्बिर कथाको संरचनाबारे सहभागीहरूलाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरे ।

तालिमको दोस्रो दिन सहभागीहरूलाई तस्बिर कथाको व्यवहारिक अभ्यासका लागि फिल्ड भिजिट पनि गराइएको थियो । तालिममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएका करिब ३५ जना फोटो तथा पर्यटन पत्रकारको सहभागिता रहेको थियो ।

यस प्रकारको प्रशिक्षणले मधेस प्रदेशका नयाँ तथा स्थापित पर्यटकीय गन्तव्यहरूको दृश्य अभिलेखन, गन्तव्य ब्रान्डिङ तथा स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने तालिम संयोजक तथा एनएफपीजेका कोषाध्यक्ष प्रदीप श्रेष्ठले विश्वास व्यक्त गरे ।