
महोत्तरी । बढ्दो शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि महोत्तरी जिल्लामा शीतलहर व्यवस्थापन तथा प्रतिकार्यलाई तीव्र बनाइएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीको समन्वयमा जिल्लाका सबै स्थानीय तहले चोक चोकमा दाउरा वितरण तथा बाल्ने कार्यलाई निरन्तरता दिएका छन् ।




जिल्लाका विभिन्न पालिकामा सार्वजनिक स्थल, मुख्य चोक र आवागमन बढी हुने स्थानमा दाउरा बालेर सर्वसाधारणलाई चिसोबाट जोगाउने प्रयास भइरहेको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालिका तथा विपन्न समुदाय बढी प्रभावित हुने भएकाले उनीहरूलाई लक्षित गरी राहत तथा सहायताको व्यवस्था गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

दाउराको अभाव नहोस् भन्ने उद्देश्यले जिल्ला वन पैदावर आपूर्ति समितिबाट आवश्यक दाउराको आपूर्ति निरन्तर भइरहेको छ । समितिका अनुसार मागअनुसार दाउरा उपलब्ध गराइँदै आएको छ । यसले शीतलहर व्यवस्थापन कार्यलाई सहज बनाएको छ ।
शीतलहरबाट जोगिन अत्यावश्यक न्यानो कपडाको आवश्यकता परेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क गर्न जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ । स्थानीय तहलाई जानकारी गराएमा तत्काल समन्वय गरी न्यानो कपडा, कम्बल तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइने समितिको भनाइ छ । साथै कुनै ठाउँमा समस्या देखिए वा सहयोग आवश्यक परेमा जानकारी दिएपछि तुरुन्तै पहल गरिने पनि जनाइएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले यस विपद् व्यवस्थापन कार्यमा सक्षम वर्गलाई असक्षम, विपन्न तथा जोखिममा रहेका नागरिकलाई मानवीय सहयोग गर्न समेत अपिल गरेको छ । शीतलहरको असर कम गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको भन्दै समिति र स्थानीय तहले सचेतना र सहयोग अभियानलाई निरन्तरता दिने बताएका छन् ।
लगातारको चिसो र शीतलहरका कारण महोत्तरीसहित तराई मधेशका जिल्लामा जनजीवन प्रभावित भइरहेका बेला जिल्लामा सञ्चालनमा ल्याइएका यी व्यवस्थापन तथा प्रतिकार्यका प्रयासले सर्वसाधारणलाई केही राहत पुगेको स्थानीयवासीले बताएका छन् ।
