
जनकपुरधाम । २५औँ सशस्त्र प्रहरी दिवस तथा रजत महोत्सवको अवसरमा सशस्त्र प्रहरी बल नेपालद्वारा आयोजित पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम सिरहा जिल्लाको कमला नदी किनारमा भव्य रूपमा सम्पन्न भएको छ ।
धनुषाबाट आएको सशस्त्र प्रहरी टोलीले सिरहा खण्डको टोलीलाई झण्डा हस्तान्तरण गर्दै मार्च औपचारिक रूपमा सिराहा क्षेत्रमा प्रवेश गरेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल गण-७ सिरहाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नरेश भण्डारी, गण–८ धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्का, जनकनन्दनी गाउँपालिकाका उपाध्यक्ष, कमला नगरपालिकाका मेयर–उपमेयर, सिरहा नगरपालिकाका मेयर डा. नवीन यादवलगायत स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।




सशस्त्र प्रहरी निरीक्षक सन्जित मानन्धरका अनुसार, झण्डा मार्चले राष्ट्रभक्ति, अनुशासन र सुरक्षा सन्देश प्रवाह गर्नुका साथै संगठनको भूमिका, योगदान र जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ । यो कार्यक्रम १८ दिनसम्म विभिन्न संवेदनशील नाकाहरू हुँदै नवलपुरमा ऐतिहासिक समारोहसँगै समाप्त हुने कार्यक्रम रहेको छ ।

सहभागीहरूले सशस्त्र प्रहरी बल नेपालको २५ वर्षे सेवा, त्याग र प्रतिबद्धताको प्रशंसा गर्दै आगामी दिनमा पनि राष्ट्रको सार्वभौमिकता, अखण्डता र सीमा सुरक्षा सुनिश्चित गर्न संगठन दृढताका साथ अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
