महोत्तरी–२ मा रास्वपाबाट दीपक कर्ण सम्भावित उम्मेदवार

महोत्तरी । आगामी फागुन २१ गते हुने आसन निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा समाजसेवी दीपक कुमार कर्ण सम्भावित उम्मेदवार बनेका छन् ।
कर्णले स्वास्थ्य, शिक्षा, खानेपानी, सुरक्षा, रोजगारी र सुशासनलाई आफ्नो प्रमुख प्राथमिकता बनाई चुनावी मैदानमा उत्रिने बताएका छन् ।
कम्प्युटर इन्जिनियरिङमा स्नातक कर्णले IBM, ReaQtaLogPoint जस्ता बहुराष्ट्रिय कम्पनीहरूमा साइबर सुरक्षा तथा जोखिम व्यवस्थापन प्रणालीमा काम गरेका छन् । उनले विश्वस्तरका संस्थाहरूमा नेतृत्वदायी भूमिकामा रही गुणस्तर, सुरक्षा र प्रणालीगत असफलताका जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।
आफ्नो व्यावसायिक अनुभव सार्वजनिक सेवामा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कर्णले जोखिमलाई समयमै पहिचान गर्ने, असुरक्षित निर्णयलाई चुनौती दिने र उत्तरदायित्वपूर्ण शासन प्रणाली निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखेको बताएका छन् ।
“आउटपुट मात्र होइन, निर्णयको स्पष्टता र त्यसको उत्तरदायित्व नै सफल शासनको आधार हो,” कर्णले भने ।

उनका अनुसार राजनीतिक दलहरूमा उत्तरदायित्वको अभावका कारण राज्य संयन्त्रमा विभिन्न संरचनागत कमजोरीहरू देखिएका छन्, जसको सुधार आजको प्रमुख आवश्यकता हो ।
“जोखिमलाई ढाकछोप गर्ने होइन, पहिचान गरेर समाधान गर्ने संस्कार राज्यमा बसाल्नुपर्छ,” उनले जोड दिए ।

बिज्ञापन

महोत्तरी–२ मा नागरिकको सुरक्षित भविष्य, रोजगारी सिर्जना, प्रविधिमैत्री शासन, उत्तरदायी सार्वजनिक सेवा र संस्थागत सुधार आफ्नो मुख्य प्राथमिकता रहने कर्णले स्पष्ट पारे।

पार्टी अनुशासनप्रति स्पष्ट प्रतिबद्धता जनाउँदै उनले पार्टीको निर्णयलाई सहर्ष स्वीकार गर्ने र अन्ततः आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हका उम्मेदवारलाई विजयी बनाउने जिम्मेवारीमा आफू पूर्ण रूपमा प्रतिबद्ध रहने बताएका छन् ।
जनताको विश्वास नै सबैभन्दा ठूलो शक्ति हो, त्यही विश्वासको जिम्मेवारी लिन दीपक कुमार कर्ण सार्वजनिक सेवामा आएका हुन् ।