
जनकपुरधाम । मधेसकी युवती सानवी भगत सामाजिक सञ्जालमा सबैभन्दा बढी फलोअर्स हुने नेपालीको सूचीमा शीर्ष स्थानमा पुगेकी छन् । फेसबुकमा ४० लाखभन्दा बढी फलोअर्ससहित उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र अभिनेत्री रेखा थापालाई उछिनेकी हुन् ।
केही समयअघिसम्म अभिनेत्री रेखा थापा सबैभन्दा बढी फलोअर्स भएकी नेपाली मानिँदै आएकी थिइन् । पछिल्ला दिनमा बालेन साहले उनलाई उछिनेको दाबी केही सञ्चारमाध्यममा प्रकाशित भए पनि उपलब्ध तथ्यांकले फरक तस्वीर देखाएको छ । जनकपुरधामकी सान्भी भगतको फेसबुक ‘अनभेरिफाइड’ पेजमा मात्र ४० लाखभन्दा बढी फलोअर्स छन् । तुलनात्मक रूपमा बालेन साह र रेखा थापाको फेसबुक फलोअर्स संख्या करिब ३४ लाखको हाराहारीमा छ ।




फेसबुकमा मात्र होइन, इन्स्टाग्राम र टिकटकमा पनि सान्भीको प्रभाव उल्लेखनीय देखिन्छ । उनको इन्स्टाग्राम अकाउन्टलाई ३५ लाखभन्दा बढीले फलो गरेका छन् भने टिकटकमा २९ लाखभन्दा बढी फलोअर्स छन् । युट्युब च्यानलमा भने उनका करिब दुई लाख सब्सक्राइबर रहेका छन् ।

सान्भी कुनै स्थापित फिल्मी वा राजनीतिक व्यक्तित्व भने होइनन् । उनी राष्ट्रियस्तरमा औपचारिक रूपमा चिनिएको नाम पनि होइनन् र उनको फेसबुक पेजसमेत भेरिफाइड छैन । यति ठूलो संख्यामा फलोअर्स कसरी जुटे भन्ने विषयले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको ध्यान खिचेको छ । कतिपयले फलोअर्स खरिद गरिएको आशंका गरे पनि उनको लामो समयदेखिको निरन्तर सक्रियता, सामग्रीको पहुँच र अन्तरक्रियाले त्यसो भएको नदेखिने बताइन्छ ।
२३ वर्षीया अविवाहित सान्भी मुख्य रूपमा टिकटकमार्फत उदाएकी हुन् । उनले लकडाउनको समयमा, कक्षा १० मा अध्ययनरत रहँदा, टिकटक प्रयोग गर्न थालेको बताएकी छन्। बाल्यकालदेखि नै अभिनय र नृत्यमा रुचि रहेकी सान्भीले टिकटकलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने माध्यम बनाइन्। नृत्यभन्दा बढी लिपसिंक भिडियोमार्फत उनी भाइरल हुँदै गइन् । उनका अधिकांश सामग्री मैथली र हिन्दी भाषामा छन् ।
पछिल्लो समय उनी भोजपुरी र मैथली गीतका म्युजिक भिडियोमा पनि देखिन थालेकी छन् । उनले अभिनय गरेको ‘केकर पिजरवामेँ’ बोलको गीतले मात्रै ३४ लाखभन्दा बढी भ्युज पाएको छ । हाल उनी स्नातक तहको तेस्रो वर्षमा अध्ययनरत छिन् ।
सामाजिक सञ्जालमा सान्भी भगतको तीव्र उदयलाई मधेस क्षेत्रबाट विकसित हुँदै गएको नयाँ डिजिटल प्रभावको उदाहरणका रूपमा हेरिएको छ । बालेनको इन्स्टाग्राममा १० लाख बढी फ्लोवर्स छ । सानभीको भने ३५ लाख फ्लोवर्स छ । सानभी टिकटक मार्फत जुडेकोले उनको शुभचिन्तक भारत, बिहार र अन्य ठाउँका पनि हुन् ।
