
काठमाडौं । एमाले सचिव महेश बस्नेतले इन्धनको मूल्यवृद्धिले महँगी झन् बढ्ने र त्यसको प्रत्यक्ष असर आम नागरिकको जीवनयापनमा पर्ने बताउनुभएको छ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँ मूल्य वृद्धि गरिएको निर्णयप्रति चिन्ता व्यक्त गर्नुभएको हो।




बस्नेतले इन्धनको मूल्यवृद्धिले जनताको ढाड नै सेक्ने अवस्था सिर्जना हुँदै गएको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार इन्धनको मूल्य बढेसँगै यातायात खर्च बढ्ने र त्यसको प्रभाव दैनिक उपभोग्य वस्तुको मूल्यमा पनि पर्ने लगभग निश्चित हुन्छ।

उहाँले यस्तो अवस्थाले सामान्य नागरिकलाई दैनिक जीवन धान्न झन् कठिन बनाउने देखिएको बताउनुभएको छ। महँगीले विशेषगरी न्यून तथा मध्यम आय भएका नागरिकलाई थप मारमा पार्ने उहाँको भनाइ छ।
बस्नेतले वर्तमान सरकार सञ्चालनमा रहेका राजनीतिक शक्तिहरूको भूमिकामाथि पनि प्रश्न उठाउनुभएको छ। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी सरकार बनाउने चरणमा रहेको र त्यसकै समर्थनमा सरकार सञ्चालन भइरहेको अवस्थामा यस्तो निर्णयलाई कसरी व्याख्या गर्ने भन्ने विषयमा बहस आवश्यक रहेको बताउनुभएको हो।
उहाँले इन्धन मूल्यवृद्धिको कारण अन्तर्राष्ट्रिय परिस्थिति विशेषतः अमेरिका–इरानबीचको तनाव र विश्वव्यापी महँगीलाई देखाएर यसलाई स्वाभाविक मान्ने कि जनविरोधी निर्णयका रूपमा विरोध गर्ने भन्ने प्रश्न पनि उठाउनुभएको छ।
बस्नेतले परिवर्तनको अपेक्षा राख्ने नागरिकहरूले यस विषयमा गम्भीरतापूर्वक मनन गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। उहाँका अनुसार इन्धन मूल्यवृद्धि जस्ता निर्णयले प्रत्यक्ष रूपमा जनजीवनमा प्रभाव पार्ने भएकाले सरकार र राजनीतिक दलहरूले त्यसको परिणामबारे संवेदनशील हुन आवश्यक रहेको बताउनुभएको छ।