
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलको सक्रियतामा संगठनभित्र उच्च तहका अधिकृतहरूको बढुवा प्रक्रिया अघि बढाइएको छ ।
मंगलबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजी, एसएसपी तथा एआईजी पदका लागि विभिन्न अधिकृतहरूको बढुवा सिफारिस गरेको हो ।




समितिको निर्णयअनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूहअन्तर्गत रिक्त सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा राजेन्द्र खड्का बढुवा भएका छन् । त्यस्तै साधारण कानुन उपसमूहतर्फको डीआईजी पदमा युवराज अर्याल बढुवा सिफारिस भएका छन् ।

यस्तै साधारण समूहअन्तर्गत रिक्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा संजय भट्टराईलाई बढुवा गरिएको छ भने प्राविधिक समूह स्वास्थ्यतर्फको एसएसपी पदमा डा. रोस्सु थापा बढुवा भएका छन् ।
साधारण समूह, कानुन उपसमूहतर्फको रिक्त एसएसपी पदमा छविलाल पाण्डे बढुवा सिफारिस भएका छन् ।
त्यसैगरी, हाल डीआईजी रहेका अन्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
आईजीपी पौडेल नेतृत्वमा सशस्त्र प्रहरीभित्र पछिल्लो समय संगठनात्मक संरचना सुदृढ गर्ने र नेतृत्व तहलाई पूर्णता दिने काम तीव्र रूपमा अघि बढाइएको बताइएको छ ।