जनकपुरधाम : एस.एम. कलेज कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल

जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार प्रकाशन गरेको नतिजा अनुसार जनकपुरधामस्थित एस.एम. कलेज (SM College) ले कक्षा १२ को नतिजामा यस वर्ष पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भएको छ । कलेज प्रशासनका अनुसार विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको मार्गदर्शन र कलेजको शैक्षिक वातावरणले यो नतिजा सम्भव भएको हो ।

एस.एम. कलेजका प्रिन्सिपल प्रमोद साहका अनुसार यस वर्षको नतिजामा २ जना विद्यार्थीले A+ (सर्वोच्च ग्रेड), १६ जनाले A, ३२ जनाले B+ र २० जनाले B ग्रेड ल्याउन सफल भएका छन् ।

बिज्ञापन

कुल नतिजा हेर्दा कलेजको सफलता दर अत्यन्त सन्तोषजनक रहेको देखिन्छ । कलेजले नियमित कक्षा, आन्तरिक मूल्याङ्कन, अतिरिक्त कक्षाहरू तथा परामर्श कार्यक्रमहरूमार्फत विद्यार्थीहरूको शैक्षिक प्रगति सुनिश्चित गर्दै आएको छ ।

प्रिन्सिपल साहले भने, हामी हरेक विद्यार्थीको क्षमता अनुसार शैक्षिक सहारा दिने प्रयासमा छौं । यो नतिजाले हाम्रो कलेजको शिक्षात्मक प्रतिबद्धता पुष्टि गरेको छ ।

कलेजले आगामी शैक्षिक सत्रमा अझ प्रविधिमैत्री शिक्षण विधि अपनाउने, प्रयोगशाला र पुस्तकालय विस्तार गर्ने र विद्यार्थीसँगको समन्वयमा आधारित योजनाहरू अगाडि बढाउने जनाएको छ ।